बुटवल, असार २०। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपालअन्तर्गत रिजन–१३ को प्रथम रिजन बैठक तथा रिजन, जोन र क्लब प्रेसिडेन्ट परिचयात्मक कार्यक्रम शुक्रबार बुटवलस्थित दियालो फुडल्याण्ड, मिलनचोकमा सम्पन्न भएको छ।
रिजन–१३ का चेयरपर्सन लायन नारायण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिजन–१३ अन्तर्गतका विभिन्न लायन्स क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्यता संयोजक तथा अन्य पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। “Think Positive, Spread Happiness” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा चालु लायन वर्ष २०२६–२७ का कार्यक्रम, सदस्यता अभिवृद्धि, क्लब सुदृढीकरण, नयाँ सदस्य भर्ना तथा संरक्षण, क्लब रिपोर्टिङ प्रणाली, MyLion मार्फत समयमै प्रतिवेदन पेश गर्ने व्यवस्था, क्लब परियोजना योजना, LCIF तथा NLF योगदान, नेतृत्व विकास र आगामी सेवा कार्यक्रमका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा जिल्ला उपसचिव MJF लायन ओम थापाले नेतृत्वदायी मार्गदर्शनसहित शुभकामना मन्तव्य व्यक्त गर्दै लायन्सको मूल उद्देश्यलाई आत्मसात् गर्दै सेवामूलक कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन सबै क्लबलाई आग्रह गर्नुभयो। त्यसैगरी एरिया–४ का MJF लायन दीपक गौतमले शुभकामना मन्तव्य व्यक्त गर्दै रिजनभित्रका क्लबहरूबीच समन्वय, एकता र सक्रिय सहभागिताले लायन्स अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
बैठकमा खुला छलफल तथा प्रश्नोत्तर सत्रसमेत सञ्चालन गरिएको थियो। सहभागीहरूले क्लब सञ्चालन, सेवा परियोजना, सदस्यता विस्तार, प्रतिवेदन प्रणाली तथा आगामी कार्ययोजनाका सम्बन्धमा जिज्ञासा राखेका थिए भने नेतृत्वबाट आवश्यक सुझाव तथा समाधान प्रदान गरिएको थियो।
कार्यक्रमअन्तर्गत आयोजित तालिम सत्रमा लायन एम.एल. पाण्डेले क्लब उत्कृष्टता तथा सदस्यता अभिवृद्धि विषयमा प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी MJF लायन माधव खनालले नेतृत्व, प्रोटोकल तथा टोली समन्वय विषयमा प्रशिक्षण प्रदान गर्दै प्रभावकारी नेतृत्व, अनुशासन र समन्वयात्मक कार्यशैलीका विषयमा सहभागीहरूलाई व्यावहारिक जानकारी गराउनुभयो।
यसै अवसरमा लायन्स क्लब अफ बुटवल सिद्धबाबाका प्रथम उपाध्यक्ष लायन डीपी खत्रीले मेल्भिन जोन्स फेलोसिप (MJF) का लागि एक हजार अमेरिकी डलर (US$ 1,000) योगदान गर्ने घोषणा गर्नुभएको छ। साथै लायन्स क्लब अफ बुटवल सिद्धबाबाका पूर्व अध्यक्ष MJF लायन गणेश प्रसाद भट्टराई तथा पूर्व अध्यक्ष लायन योगेश घिमिरे ले पनि मेल्भिन जोन्स फेलोसिप (MJF) प्राप्त गर्नुभएको घोषणा गरिएको थियो। उहाँहरूको योगदान र सम्मानले मानवीय सेवाप्रतिको समर्पण तथा लायन्स अभियानलाई थप सशक्त बनाउन महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको कार्यक्रममा उल्लेख गरिएको थियो।





