
बुटवल, असार १५। लायन्स क्लब अफ बुटवल सिद्धबाबाको लायन वर्ष २०२५/२६ को ह्यान्डओभर तथा टेकओभर एवं पदस्थापना कार्यक्रम बुटवल–११, इटाभट्टी लाइनस्थित एसियन पार्टी प्यालेसमा सम्पन्न भएको छ।
कार्यक्रममा निवर्तमान अध्यक्ष लायन भूमिप्रसाद सापकोटाले लायन वर्ष २०२६/२७ का अध्यक्ष लायन नेत्रप्रसाद पाण्डेलाई अध्यक्षीय कुर्ची हस्तान्तरण गर्दै औपचारिक रूपमा नेतृत्व सुम्पनुभएको थियो। त्यसैगरी, निवर्तमान सचिव लायन तुलसीराम न्यौपानेले नवनियुक्त सचिव लायन कमलप्रसाद न्यौपानेलाई माइन्युट तथा आवश्यक अभिलेख हस्तान्तरण गर्नुभयो। निवर्तमान कोषाध्यक्षले आर्थिक प्रतिवेदन तथा हिसाब–किताब सार्वजनिक गर्दै नयाँ कार्यसमितिलाई आर्थिक जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लायन रामप्रसाद बन्जाडेले क्लबको स्थापना देखि हालसम्मको यात्रा, उपलब्धि र सेवामूलक गतिविधिहरूको स्मरण गर्दै क्लबले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सेवाभाव, एकता र नेतृत्वदायी भूमिकालाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा उपस्थित पूर्व अध्यक्षहरू, लायन्स पदाधिकारी, सदस्यहरू तथा अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो





