१० भदौ, काठमाडौं । हैजा र झाडापखलाबाट प्रभावित वीरगञ्जमा उपचारपछि निको भएर घर फर्किने बिरामीहरूको संख्या बढ्दै गएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले मंगलबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म १७१ जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन्।
शुक्रबारदेखि अहिलेसम्म वीरगञ्जका एक दर्जनभन्दा बढी अस्पतालमा ३९१ जना हैजा र झाडापखलाका बिरामी भर्ना भएका थिए। तीमध्ये अझै २२० जना विभिन्न अस्पतालमा उपचाररत रहेको कार्यालयका प्रमुख जयमोद ठाकुरले जानकारी दिएका छन्।
उनका अनुसार सबैभन्दा धेरै बिरामी नारायणी अस्पतालमा छन्, जहाँ हाल १०६ जना उपचाररत छन्। त्यस्तै तराई अस्पतालमा ३३, नेसनल मेडिकल कलेजमा ३१, वीरगञ्ज हेल्थ केयर हस्पिटलमा २० जना बिरामी छन्।
यसैगरी सर्वोत्तम हस्पिटलमा ९, एडभान्स हस्पिटलमा ६, प्रभु हस्पिटलमा ५, नीलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा ३ र नारायणी सेन्टर हस्पिटलमा २ जना बिरामी उपचार भइरहेको छ।
यस्तै आशाराम हस्पिटल, वीरगञ्ज न्यूरो एन्ड जनरल हस्पिटल, स्पर्श एमएस हस्पिटल, भवानी हस्पिटल र अलि अर्थ हस्पिटलमा एक/एक जना बिरामी उपचाररत रहेका छन्।






