तिलोत्तमा, असार २
होराइजन गौतम बुद्ध मा.वि.ड्राइभरटोल रुपन्देहीले कक्षा ११ व्यबस्थापन विषय समूहमा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीलाई विद्यालयको शैक्षिक वातावरण, नीति तथा नियमन, पाठ्यक्रम, अध्ययन प्रणाली, उपलब्ध अवसरहरूका बारे जानकारी गराई उनीहरूलाई शैक्षिक जीवनप्रति जिम्मेवार, अनुशासित र प्रेरित बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चालक समिति अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठ, उपप्राचार्यद्वय इन्द्र प्रसाद भुसाल, ज्ञानेश्वर ज्ञवाली, शैक्षिक निर्देशक जीवनाथ भण्डारी, सञ्चालक डा. मुरारि पराजुली, डा.तारानाथ भट्टराई, डा. झुलन पौडेल, प्रकाश घिमिरे, प्रदीप अर्याल, भास्करनाथ पाण्डे, शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, अभिमुखीकर्ता असीम शर्मा लगायतको उपस्थिती रहेको थियो ।

उपस्थित सबैलाई डा.नारायण पन्थले स्वागत मन्तव्य राख्नुभएको थियो । विद्यालयका उपप्राचार्य इन्द्र प्रसाद भुसालले विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, नीति तथा नियमनबारे विस्तृत जानकारी गराउनुभएको थियो ।
परिचयात्मक सत्रको सहजीकरण प्राध्यापक एवम् संयोजक श्री रुद्रप्रसाद भुसालले गर्नुभएको थियो। उहाँले विद्यालयका विभिन्न विषयका शिक्षक एवम् कर्मचारीहरूलाई विद्यार्थीहरूमाझ परिचय गराउनुभएको थियो । सत्रका क्रममा पावरपोइन्ट प्रिजन्टेसन र प्रोजेक्टरको प्रयोग मार्फत प्रत्येक शिक्षकको संक्षिप्त व्यक्तिगत तथा व्यावसायिक विवरण (Teacher Profile) प्रस्तुत गरिएको थियो। त्यसपछि सम्बन्धित शिक्षकहरूलाई मञ्चमा आमन्त्रण गरी विद्यार्थीहरूसँग प्रत्यक्ष परिचय गराइएको थियो । यस कार्यक्रमले विद्यार्थीहरूलाई शिक्षकहरूको शैक्षिक पृष्ठभूमि, अनुभव तथा जिम्मेवारीबारे जानकारी प्राप्त गर्न सहयोग पुर्याएको थियो र शिक्षक–विद्यार्थी सम्बन्धलाई थप आत्मीय बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।
कार्यक्रममा अभिमुखी कर्ता असीम शर्माले विद्यार्थीहरूलाई आफ्नो लक्ष्य स्पष्ट बनाई अनुशासित, मेहनती र सकारात्मक सोंचका साथ अध्ययन गर्न प्रेरित गर्नुभयो । उहाँले आत्मविश्वासका साथ चुनौतीहरूको सामना गर्न, निरन्तर सिक्न र आफ्नो उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर हुन सुझाव दिनुभयो । सफलताका लागि लगनशीलता, जिम्मेवारीबोध र दृढ संकल्प आवश्यक हुने कुरा बताउनुभयो ।
प्राचार्य एवम् अध्यक्षको मन्तव्य प्रस्तुत गर्दै श्री गोपाल प्रसाद आचार्यले विद्यालयको शैक्षिक परम्परा, अनुशासन, गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता तथा विद्यार्थीहरूको भूमिकाका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
उहाँले उच्च अध्ययनका यहाँहरूले सही र भरोसा योग्य शैक्षिक संस्थाको छनोट गरी आउनुभएको भन्दै तपाईंहरूको भरोसा र भविष्य निर्माणका लागि विद्यालयले कुनै पनि कसर राख्ने छैन भन्नुभयो ।उहाँले विद्यार्थीहरूलाई लगनशील, अनुशासन र सकारात्मक सोचका साथ अध्ययनमा समर्पित हुन प्रेरित गर्नुभएको थियो । साथै विद्यालयले प्रदान गर्ने शैक्षिक अवसरहरूको सदुपयोग गरी उज्ज्वल भविष्य निर्माण गर्न शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमलाई रोचक बनाउन कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूद्वारा विभिन्न नृत्यहरू समेत प्रस्तुत गरिएका थिए । कार्यक्रमको सञ्चालन प्राध्यापक लक्ष्मण प्रसाद गौतमले गर्नुभएको थियो ।
कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको कक्षा असार ४ गतेदेखि र कक्षा १२ को पठनपाठन असार ८ गतेदेखि सञ्चालन हुने कुरा उपप्राचार्य इन्द्र भुसालले जानकारी दिनुभयो ।





