बुटवल, मंसिर ५ ।
शैक्षिक उत्कृष्टता, अनुशासन र नवीन शिक्षण सिकाइका माध्यमबाट देशकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित अक्सफोर्ड माध्यमिक विद्यालयले एक भव्य समारोहका बीच परीक्षाफल प्रकाशन तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा नगद पुरस्कार वितरण गरेको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा कक्षा ११र १२ तर्फको परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार प्रदान गरिएको हो । जसमा ३.९ जिपिए प्राप्त गरी सर्वोत्कृष्ट बन्न सफल विद्यार्थीहरू प्रार्थना पौडेल, प्रतिष्ठासुवेदी र अंशुराज बानियाँ लाई विशेष सम्मानसहित नगद पुरस्कार प्रदान गरियो । त्यस्तै, ३.७५ भन्दा माथि जिपिए ल्याउने १५ जना विद्यार्थीहरूलाई जनही रु. ११,३३३ र ३.६० भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरूलाई जनही रु. ३,४०० नगद पुरस्कार वितरण गरिएको छ । सोही अवसरमा विद्यार्थीहरूको नियमितता र शैक्षिक गुणस्तर कायम राख्न आफ्नो कक्षाबाट शतप्रतिशत विद्यार्थी उपस्थित गराउन सफल प्राध्यापकहरूलाई समेत विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले अक्सफोर्ड केवल परीक्षामा उत्कृष्ट अङ्क ल्याउने थलो मात्र नभई राष्ट्रका लागि आवश्यक सक्षम, संस्कारयुक्त र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने पाठशाला भएको बताउनुभयो । उहाँले भन्नुभयो, *”अक्सफोर्डको यो ऐतिहासिक सफलता विद्यार्थीहरूको अथक परिश्रम, अभिभावकहरूको अटल विश्वास र हाम्रा प्राध्यापकहरूको समर्पणको त्रिवेणी हो । हामी प्रत्येक विद्यार्थीभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउँदै आगामी दिनमा अझ प्रविधिमैत्री, व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्न सदैव प्रतिबद्ध छौँ ।” *

त्यसैगरी, प्राध्यापक सुमन भुसालले अक्सफोर्ड मा.वि. ले सिकाइलाई बोझको रूपमा नभई सिर्जना र उत्सवको रूपमा अगाडि बढाएकै कारण आज यो लोभलाग्दो नतिजा सम्भव भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, *”शिक्षा भनेको केवल किताबी ज्ञान मात्र होइन, यो त जीवन जिउने कला र भविष्य निर्माणको आधारशिला हो । अक्सफोर्ड परिवारले प्रत्येक विद्यार्थीको व्यक्तिगत क्षमता पहिचान गरी सोहीअनुसारको मार्गनिर्देशन गर्ने भएकाले नै आज हाम्रा विद्यार्थीहरू हरेक क्षेत्रमा अब्बल साबित भएका छन् । यो पुरस्कारले विद्यार्थीहरूमा अझै उच्च शिखर चुम्ने ऊर्जा थपेको छ ।” *
प्राचार्य दिनेश भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारी,क्याम्पसका अध्यक्ष डा. अजित खनाल ,क्याम्पस प्रमुख मनोज मरासिनी लगायतले मन्तव्य राख्दै अक्सफोर्डको शैक्षिक उन्नयनको प्रशंसा गर्नुभएको थियो ।

अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। पुरस्कार तथा सम्मान प्राप्त गरेपछि विद्यार्थी एवं प्राध्यापकहरूले विद्यालयको यस प्रोत्साहनमूलक कदमले आगामी दिनमा अझ उत्कृष्ट नतिजा दिन हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।





