बुटवल । दूरसञ्चार सेवा प्रदायक एनसेलले असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा बुटवलका एक युवा स्क्यामरको ठगीमा परेका छन् । बुटवलका समुद्र श्रेष्ठबाट स्क्यामरले पाँच लाख ७१ हजार रुपैयाँ लुटिदिएपछि पीडित व्यक्तिसहित युवाहरुले बुटवलको एनसेन सेन्टरमा मँगलबार ताला लगाएका छन्।
विदेश यात्राका लागि भन्दै श्रेष्ठले पेस गरेको पासपोर्ट, नागरिकताको प्रतिलिपी लगायतका कागजातको दुरुपयोग गर्दै स्क्यामरले उनले प्रयोग गर्दै आएको एनसेल सीमबाट ई-सीम निकालेर उनको विभिन्न बैंकमा रहेको रकम लुटिदिएको हो । पीडितका अनुसार गएको शुक्रबार (मंसिर १९ गते) अनलाइन विज्ञापनको आधारमा जीवन पौडेल नाम गरेका एक जना व्यक्तिलाई आफ्नो कागजातका प्रतिलिपी दिएका थिए । सोही कागजातको आधारमा उक्त व्यक्तिले पीडिट श्रेष्ठले प्रयोग गर्दै आएको एनसेल नम्बराबाट ई–सीम निकालेपछि सोही सीमको प्रयोग गरी विभिन्न बैंक खातामा रहेका रकम लुटेका थिए । यो घटना पीडितले सोही हिन अर्थात शुक्रबार साँझ थाहा पाए जब उनको फिजिकल सीम बन्द भैसकेको थियो । यस बारेमा बुझ्न एनसेल अफिसमा फोन गर्दा सोही नम्बरको ई–सीम जारी भएको एनसेल प्रतिनिधिले उनलाई जानकारी दियो ।
श्रेष्ठले यसअभि पनि विभिन्न देशको भ्रमण गर्दै आएको र यस पटक पनि स्वीजरल्याण्डको भ्रमणका लागि भिसा प्रक्रिया अगाडि बढाउन आफ्ना डकुमेन्ट पेस गरेका थिए । तर, जुन व्यक्तिलाई उनले आफ्ना कागजात पेस गरेका थिए ति व्यक्तिनै स्क्यामर हुन् भन्ने आफू लुटिएपछि मात्रै थाहा भयो । आफ्नो बैंक खातामा भएका सबै रकम लुटिएपछि उनले विदेश जानका लागि कागजात पेश गरेका जीवन पौडेल भन्ने व्यक्ति सम्पर्कविहिन छन् । ति व्यक्तिसँग १५ दिनसम्म लामो कुराकानीपछि मात्रै उनी विश्वासमा परेका थिए । स्क्यामरले बुटवलको दिपनगर घर भएको परिचय दिएपछि उनी थप विश्वासमा परेका थिए । स्क्यामरलाई सहोग गर्नका लागि एनसेलका प्रतिनिधिको समेत मिलेमतो भएको पीडितको आरोप छ । उक्त व्यक्तिलाई ई–सीम जारी गर्नका लागि सहयोग गर्ने एनसेल प्रतिनिधि (वितरक) मनिष क्षेत्रीलाई कारबाही गर्नुपर्ने पीडितहरुको माग रहेको छ ।
यस विषयमा प्रतिक्रिया माग्दा एनसेल क्षेत्रीय कार्यालय बुटवलका बिजनेश हेड विनय डंगोलले केन्द्रीय कार्यालयले मात्रै यसको जवाफ दिन सक्ने बताए । आफूहरुलाई यो घटना बारे कुनै जानकारी नभएको बताउँदै उनले केन्द्रीय कार्यालयसँग आवश्यक जवाफ प्राप्त भएपछि जानकारी गराउने सञ्चारकर्मीहरुलाई आश्वासन दिए ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले पीडितहरुले सोमबार कार्यालयमा उजुरी दिएपछि आवश्यक अनुसन्धानलाई अघि बढाइएको प्रतिक्रिया दिए ।






