रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ४ जना विज्ञ तथा दुई जना सल्लाहकार गरी ६ जनालाई बिदा गरेका छन् ।
अर्थ मन्त्रालयले फजुल खर्च रोक्ने र अनुत्पादक क्षेत्रको खर्च कटौती गर्ने निर्णय अगाबै उनले यसअघि आफूले राखेका विज्ञ तथा सल्लाहकार हटाएको जनाएका छन्।’
लुम्बिनी प्रदेश मुख्यमन्त्रीको १४ जनाको ठूलो सचिवालय तथा सल्लाहकार बनाइएको भन्दै आलोचना भएको थियो । अहिले ६ जनालाई हटाइएपनि अर्थ मन्त्रालयको नयाँ मापदण्डअनुसार मुख्यमन्त्री, मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्रै राख्न पाइनेछ। यो निर्णय कार्यान्वयन भएमा मुख्यमन्त्री आचार्यको सचिवालयबाट अझै ५ जनाले बिदा पाउने छन् ।
अहिले मुख्यमन्त्री हटाएमध्ये राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवाली, जनसम्पर्क सल्लाहकार रामबहादुर राउत, विज्ञहरूः इश्वरीप्रसाद अर्याल (अर्थ), जीवन अर्याल (पूर्वाधार), युवराज घिमिरे (ग्रामीण विकास), दलबहादुर गुरुङ (शिक्षा) रहेका छन् ।
राजनीतिक सल्लाहकार ज्ञवालीले राज्यमन्त्रीसरह मासिक ८० हजार ८४० रुपैयाँ तलब बुझेका थिए। यसबाहेक उनले एकजना स्वकीय सहायक, एक कार्यालय सहयोगी र एक सवारी चालकसमेत नियुक्त गर्न पाएका थिए। राउतले सहायक मन्त्रीसरह मासिक ६४ हजार ८०० रुपैयाँ सुविधा पाएका थिए उनले पनि छुट्टै ३ जना कर्मचारी नियुक्त गर्न पाउने सुविधा थियो । विज्ञहरूः ईश्वरीप्रसाद अर्याल (अर्थ), जीवन अर्याल (पूर्वाधार), युवराज घिमिरे (ग्रामीण विकास), दलबहादुर गुरुङ (शिक्षा) सबैले मासिक ६०,४९० रुपैयाँ तलब पाएका थिए ।






