१६ मंसिर, काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजसँग भिड्नेछ भने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
जनकपुर–चितवनबीचको खेल बिहान ११:४५ बजे सुरु हुनेछ। डिफेन्डिङ च्याम्पियन जनकपुर यस सिजन खराब लयमा छ र अहिलेसम्म खेलेका चारै खेलमा पराजित भएको छ। लिगमा एकमात्र जितविहीन टोली बनेको जनकपुरका लागि आजको खेल प्रतिष्ठा जोगाउने अन्तिम अवसर बनेको छ। पराजित भएमा जनकपुर लिग चरणमै बाहिरिनेछ।
उता चितवन ४ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ। आजको खेल जित्दै प्लेअफमा प्रवेश गर्ने सम्भावना बलियो बनाउने उसको लक्ष्य छ।
पोखरा–कर्णालीबीचको दोस्रो खेल अपरान्ह ४ बजे सुरु हुनेछ। दुबै टोलीका २–२ अंक भए पनि कर्णालीले ५ खेल खेलेको छ भने पोखराले ४ खेल खेलेको छ। दुबै टोलीका लागि आजको खेल ‘जित्नैपर्ने’ परिस्थितिमा छ। जनकपुर जस्तै कर्णालीका लागि पनि आजको खेल प्रतिष्ठाको हुनेछ—पराजित भएमा कर्णाली लिगबाटै बाहिरिनेछ।
यसैबीच, सिद्धार्थ बैंक ओके एनपीएल बज कार्यक्रम अन्तर्गत सन् १९९६ मा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा राष्ट्रिय टिमका सदस्य रहेका सञ्जय गुरुङले एनपीएल र नेपाली क्रिकेटको विकासबारे विचार व्यक्त गरेका छन्।
गुरुङका अनुसार, एनपीएलले नेपाली क्रिकेटमा ठूलो माहोल सिर्जना गरेको छ र अन्तर्राष्ट्रिय स्तरमा पनि यसको चर्चा भइरहेको छ। “पहिले चिसोमा बसेर हेर्नुपर्थ्यो, अहिले राम्रो सिट छ। काम सकेर साँझ पनि खेल हेर्न पाइन्छ,” उनले भने।
उनका अनुसार एनपीएलले मनोरञ्जन र नयाँ ऊर्जा थपेको छ। “गीतमा नाच्दै टिकटक बनाउने माहोल छ। कतिलाई पहिलो पटक क्रिकेट हेर्न प्रेरणा मिलेको छ। हाम्रो पुस्ताले कल्पना नगरेका कुराहरू भइरहेका छन्,” उनले बताए।
गुरुङले एनपीएलमा नेपाली खेलाडीको ब्याटिङ अर्डर सही नहुँदा प्रदर्शन कमजोर देखिएको बताउँदै विदेशी खेलाडीबाट सिक्नुपर्ने र आफ्नो स्तर अझ उकास्नुपर्नेमा जोड दिएका छन्।






