१८ मंसिर, काठमाडौं – एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा करिब १० हजार स्वयंसेवक परिचालन गर्ने तयारी एमालेले गरेको छ।
स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालले उदघाटनको खुल्लासत्रमा उच्च सहभागिता रहने भएकाले १० हजार स्वयंसेवक परिचालन गरिने बताए। उनका अनुसार बन्दसत्रमा करिब ५०० स्वयंसेवक खटाइनेछ।
एमालेको ११ औं महाधिवेशनको उदघाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको छ।
संयोजक ढकालले भनेका छन् कि स्वयंसेवक पार्टीका २४ वटा जनसंगठन र विभिन्न कमिटीबाट खटाइने छन् भने हालै गठन गरिएको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ) स्वयंसेवक समन्वयमा जुट्नेछ।
उद्घाटन समारोहको मञ्च व्यवस्थापन, शौचालय तथा अन्य पूर्वाधार निर्माणका लागि आवश्यक स्वयंसेवक परिचालन भइसकेको छ। पूर्वबाट आउने सवारीसाधनको लागि जगातीस्थित इँटा र टायल कारखानामा, पश्चिमबाट आउने सवारीसाधनको लागि गठ्ठाघर–कमेरोटार क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ।
एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। यसमा आयोजक र निर्वाचित गरी करिब २ हजार ४०० प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।






