२२ भदौ, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २१ गतेसम्म लागुऔषधसम्बन्धी ११ वटा मुद्दा दर्ता गरी १९ जनालाई पक्राउ गरेको छ।
सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागुऔषध लुकाएर ओसारपसार गर्ने क्रममा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा १३ जना पुरुष र ६ जना महिला नेपाली नागरिक रहेका छन्। प्रहरीले उक्त अवधिमा गाँजा, चरेस, हेरोइन, अफिम तथा नाइट्राभेट बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार १३० ग्राम गाँजा, ५ किलो २२५ ग्राम चरेस, ३ ग्राम १५० मिलिग्राम हेरोइन र १० किलो ३६४ ग्राम अफिम बरामद गरिएको छ। त्यस्तै, नाइट्राभेट १० थान समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक सिंहका अनुसार लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न पक्राउ परेकाहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइएको छ।
पछिल्लो समय कपिलवस्तुका सीमा क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी तथा सुरक्षा जाँचमा थप कडाइ गरेको जनाएको छ।





