साउन २३, सुर्खेत / कर्णाली प्रदेशमा सत्ता साझेदार दल र सरकारबीचको आन्तरिक किचलो सतहमा आएको छ । यही विवादका कारण आर्थिक मामिला तथा योजना मन्त्रालयले शुक्रबार वीरेन्द्रनगरको होटल सिद्धार्थमा आयोजना गरेको समपूरक, विशेष र सशर्त अनुदानसम्बन्धी कार्यविधि निर्माणबारेको सुझाव संकलन कार्यक्रम सुरु हुनै अघि स्थगित भयो ।
माओवादी सांसद विन्दमान विष्टका अनुसार कार्यक्रम सुरु हुनुअघि नै एमाले र कांग्रेसबीच वादविवाद भएपछि सञ्चालन हुन सकेन । एमालेका सांसदले कांग्रेसको अवरोधलाई कारण बताउँदै, कांग्रेसले गठबन्धनको संस्कृति विपरीत व्यवहार गरेको आरोप लगाए । कांग्रेसका सांसदहरूले भने सरकारले आफ्नै सत्ता साझेदारलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाए । बिहीबारको एमाले संसदीय दलको बैठकले कांग्रेसको भूमिकामाथि प्रश्न उठाएपछि कांग्रेस रुष्ट बनेको हो । विवादका कारण सभामुख, दलका प्रतिनिधि र सांसदहरूको उपस्थितिमा तय भएको कार्यक्रम अधुरै रह्यो भने एकअर्काले सरकार छाड्ने चेतावनी दिएका छन् ।






