१८ मंसिर, काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा अहिले कार्यरत व्यक्तिहरूलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय गरेको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले यसअघिको परिपत्रलाई स्पष्ट पार्दै जारी गरेको नयाँ परिपत्रमा मातहतका सबै कार्यसमितिहरूलाई हाल बहालमा रहेका राष्ट्रियसभा तथा प्रदेशसभा सदस्यहरूको नाम सिफारिस नगर्न निर्देशन दिइएको छ।
परिपत्रमा भनिएको छ, ‘राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन। प्रदेशसभामा हाल बहाल रहनुभएका सदस्यहरूको नाम पनि सिफारिस गर्न मिल्ने छैन।’
त्यस्तै स्थानीय तहका निर्वाचित प्रतिनिधिहरूलाई समेत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निषेध गरिएको छ।
प्रदेशसभा निर्वाचन–२०७९ मा समानुपातिकतर्फको बन्दसूचीमा परेका उम्मेदवारहरूको नाम पनि फेरि सिफारिस गर्न नपाइने उल्लेख गरिएको छ। परिपत्रले तोकिएको भन्दा बढी संख्यामा नाम आए केन्द्रले कार्यान्वयन नगर्ने चेतावनी पनि दिएको छ।
निर्देशनअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्नेछ। समानुपातिकतर्फ समावेशीता कायम गर्दै कम्तीमा एक महिलासहित बढीमा दुईजनाको नाम मात्र सिफारिस गर्न पाइनेछ।
यस्तै राष्ट्रियसभा निर्वाचनका लागि प्रत्येक सिटमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने र सहमति नभए बहुमतका आधारमा निर्णय गर्नुपर्ने परिपत्रमा उल्लेख छ।






