बुटवल । बुटवलकै एक प्रतिष्ठित शैक्षिक संस्था कान्ति माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको बौद्धिक तथा तार्किक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित अन्तर-कक्षा वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजना गरिएको उक्त प्रतिस्पर्धामा विद्यार्थीहरूले समसामयिक विषयमा आफ्नो ओझिलो वाककला र कलात्मक प्रस्तुति प्रस्तुत गरेका थिए । अत्यन्तै प्रतिस्पर्धात्मक र उत्साहजनक वातावरणमा सञ्चालन भएको उक्त प्रतियोगितामा सहभागी कुल प्रतिस्पर्धीहरूमध्ये आफ्नो उत्कृष्ट तार्किक क्षमता र प्रस्तुति शैली प्रदर्शन गर्दै कक्षा ११ का विद्यार्थी अनुज वि.क. प्रथम हुन सफल भएका छन् ।
त्यसै गरी प्रतियोगितामा कडा प्रतिस्पर्धा दिँदै रविकान्त मिश्राले द्वितीय र सहिद खानले तृतीय स्थान हासिल गर्न सफल भए भने सृष्टि खरेलले सान्त्वना स्थान प्राप्त गरिन् । विद्यार्थीहरूको प्रस्तुति, भाषाशैली, विषयवस्तुको गहिराइ र समय व्यवस्थापन जस्ता पक्षहरूलाई सुक्ष्म रूपमा केलाउँदै विजेताहरूको चयन गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्णायक मण्डलका सदस्यहरू लिलाधर पाण्डे र कृष्णप्रसाद पाण्डेले निभाउनुभएको थियो । निर्णायक मण्डलले प्रतिस्पर्धी विद्यार्थीहरूको आत्मविश्वास र विषयवस्तुको उठान निकै परिपक्व र तारिफयोग्य रहेको भन्दै प्रशंसा समेत गरेको थियो ।
विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा सहायक प्रधानाध्यापक केदारनाथ ज्ञवालीको पनि विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष एवं प्राचार्य गोविन्द ज्ञवालीले किताबी ज्ञानसँगसँगै विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र आत्मविश्वास बढाउनका लागि यस्ता अतिरिक्त क्रियाकलापहरू कोसेढुङ्गा साबित हुने विचार व्यक्त गर्नुभयो । उहाँले विजयी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि यस्ता रचनात्मक प्रतियोगिताहरूलाई विद्यालयले निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी तथा ठुलो सङ्ख्यामा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख महेश खनालले गर्नुभएको थियो।





