कोजाग्रत पूर्णिमासँगै आज बडादसैँको समापन

Shares

काठमाडौँ — धन, धान्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेपछि आजदेखि बडादसैँ पर्व समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाको दिन पर्ने कोजाग्रत पूर्णिमा आज साँझ महालक्ष्मीको विशेष पूजासहित मनाइँदैछ।

१५ दिन लामो दसैँ पर्वको अन्त्य आज राति जाग्राम बसेर देवी महालक्ष्मीलाई सम्झिएर गरिन्छ। धार्मिक मान्यताअनुसार आजको रात महालक्ष्मी पृथ्वी भ्रमणमा निस्कने भएकाले जसको घरमा जाग्राम हुन्छ, ती घरमा लक्ष्मी प्रवेश गरी धन–सम्पत्ति प्रदान गर्छिन् भन्ने विश्वास छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजैको दिन ‘अखिल बलिपूर्ति’ समेत गर्नुपर्ने शास्त्रीय व्यवस्था छ। बलिपूर्तिसँगै विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पनि आजबाट समाप्त हुन्छ। बेलुका पूजापछि जमरा नजिकको नदी, पोखरी वा तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ।

दुर्गा पक्षको रूपमा आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैँ पर्व नेपालीले आफ्नो आर्थिक र सामाजिक अवस्था अनुसार मनाउने गर्छन्। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार देवी दुर्गाका तीन रुपमध्ये एक महालक्ष्मीको आराधना गरी दुर्गा पक्षलाई बिदा गर्ने परम्परा रहेको छ।

नवरात्रि विजयादशमीमै टुंगिए पनि दुर्गा पक्ष भने पूर्णिमासम्म चल्ने शास्त्रीय व्यवस्था छ। महालक्ष्मीको विशेष पूजा हुने भएकाले कोजाग्रत पूर्णिमालाई ‘कौमुदी’ पूर्णिमा पनि भनिन्छ।

आजको रात जुवा खेल्ने प्रचलन पनि छ, जुन धार्मिक मान्यतासँग जोडिएको छ। यस दिन महालक्ष्मीको साथसाथै इन्द्रको पनि पूजा गर्ने विधान छ।

त्यसैगरी, कार्तिक स्नान तथा तुलसीको विशेष पूजा असोज २१ गते (मंगलबार) देखि सुरु हुने जनाइएको छ। त्यसै दिन साँझदेखि आकाशदीप दानको पनि सुरुवात हुनेछ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.