२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शन माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ । प्रदर्शनमा सहभागीहरु नारा लगाउँदै अघि बढेका हुन् ।
भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् ।
सडक ढाकेर प्रदर्शन गरेका कारण सवारी आवागमन प्रभावित भएको छ ।
उनीहरुलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।
बुटवलमा पनि बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’लगायतका नारा लगाएका छन् ।
प्रदर्शनमा काठमाडौंका मेयर बालेन शाहका निकट सन्तोष गिरी लगायतका युवाहरू अग्रभागमा रहेर नाराबाजी गरेका छन् ।






