२२ असोज, काठमाडौं — आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने गण्डकी प्रदेशको पश्चिमी भागमा पनि यसको आंशिक असर परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भेगमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेको विभागले जनाएको छ।
दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भेगमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि रहेको छ।
आज राति कोशी र मधेस प्रदेशसहित पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ। साथै, कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना पनि बुलेटिनमा उल्लेख गरिएको छ।






