२ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य विगत १ महिनामा १७.७ प्रतिशत बढेको छ । शुक्रबार बजार बन्द हुँदा प्रतिऔंस ४ हजार २४९ अमेरिकी डलर छ ।
एक औंस बराबर २.४३ तोला हुन्छ । २ दिनको सार्वजनिक विदापछि सोमबारदेखि मात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार भई नयाँ मूल्य तय हुनेछ । मजबुती अर्थतन्त्रका लागि सुनको भण्डारणलाई आधारशीला मान्ने गरिन्छ ।
विश्वभरका केन्द्रीय बैंकहरुले मूल्यवृद्धि, मुद्रा उतारचढाव तथा भूराजनीतिक अस्थिरताविरुद्ध जुध्नका लागि सुनको भण्डारण गर्दछन् । सन् २०२४ को अन्त्यसम्म विश्वका सबै मुलुकसँग भएको जम्मा सुनको परिणाम ३५ हजार ९३८ टन रहेको अनुमान छ ।
जसमध्ये ठूला १० देशसँग मात्रै २६ हजार ३६२ टन अर्थात् ७३ प्रतिशत सुन मौज्दात छ । बाँकी देशसँग भएको सुन जम्मा २७ प्रतिशत हो । नेपालसँग करिब ८ टन (७.९९ टन) सुन मौज्दात रहेको वर्ल्ड गोल्ड काउन्सिलको तथ्यांक छ।
काउन्सिलको २०२४ को अन्त्यसम्मको तथ्यांकअनुसार विश्वमा सबैभन्दा धेरै सुन राखेको मुलुक हो – अमेरिका । अमेरिकाले ८ हजार १३३ टन सुन भण्डारण गरेको छ । अमेरिकाको ३४ करोड जनसंख्यालाई हिसाव गर्दा प्रतिव्यक्ति २३.९ ग्राम सुन यहाँ मौज्दात छ ।
अमेरिकापछि धेरै सुन राखेको देश हो : जर्मनी । जर्मनीसँग ३ हजार ३५१.६ टन सुन मौज्दात छ । यहाँको जनसंख्या ८ करोड ३५ लाखलाई आधार मान्ने हो भने प्रतिव्यक्ति ४०.२ ग्राम सुन मौज्दात रहेको देखिन्छ ।
त्यस्तै तेस्रोमा रहेको इटालीसँग २ हजार ४५१.९ टन सुन मौज्दात छ । यहाँको जनसंख्या ५ करोड ८९ लाखका आधारमा प्रतिव्यक्ति सुन ४१.६ ग्राम हो । सुन धेरै भण्डारण गरेको चौथो मुलुक हो : फ्रान्स । २ हजार ४३७ टन सुन मौज्दात गरेको फ्रान्सको जनसंख्या ६ करोड ४८ लाखलाई आधार मान्दा प्रतिव्यक्ति मौज्दात सुन ३७.६ ग्राम हो ।






