नवरात्रको आठौँ दिन आज महागौरीको पूजा गरिदै

Shares

१४ असाेज, काठमाडौं – नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ। दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ।

यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ। शास्त्रीय मान्यताअनुसार यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ।

सेतो वर्ण र सेतो पहिरन धारण गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ। यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन्। यी देवीको मुद्रा शान्त खालको देखिन्छ।

माताको स्वरूप गोरो वर्णको छ भने यीनका सबै कपडा र गरगहना पनि सेतै छन्। शिव पुराणका अनुसार महागौरीलाई आठ वर्षको उमेरमा पूर्वजन्मको आभास भएको थियो, त्यसैले आठ वर्षको उमेरबाट नै श्रीमाहादेवलाई स्वामी पाउने विश्वाससहित कठोर तपस्या प्रारम्भ गरेकी थिइन्।

बाल्यकालमा पार्वती हुँदादेखि नै शिवलाई पति पाउन कठोर तपस्या गरेकी महागौरीको प्रतिज्ञा थियो- ‘महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै भएर बस्छ’ यस कठोर तपस्याका कारण उनको शरीर अत्यन्त कालो भएको थियो। यिनको तपस्याले प्रसन्न भएका शिवजीले गंगाजलमा नुहाइदिएपछि उनी गोरी बनिन् र त्यसै कारण उनको नाम गौरी रहन गयो।

यी देवीको शक्ति अमोघ र प्रत्यक्ष फल दिने मानिन्छ। यस भगवतीको आराधनाले भक्तजनहरूको सबै दोष नाश हुने तथा भविष्यमा पनि बाधा नआउने विश्वास गरिन्छ। मोक्ष प्राप्तिको चाहना गर्नेहरूले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी उच्च योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ।

आजको दिन विभिन्न शक्तिपीठहरूमा बलि दिइन्छ। सात्त्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ। सात्त्विक पूजामा जल, चन्दन, अक्षत आदिसहित षोडशोपचारले पूजा गरिन्छ। सात्त्विक र राजसमा पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ। राजस पूजामा मदिरा चढाएर पूजा गर्ने र पशुबलि दिने परम्परा छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.