राजनीति बहस र विचारको क्षेत्र हो। विभिन्न धारणाहरूको प्रतिस्पर्धाबाट सही विचार छनोट हुँदै जान्छन्, र त्यो विचार व्यवहारमा कसरी रूपान्तरण हुन्छ भन्ने विषयमा दलको नेतृत्व, संरचना र कार्यशैली निर्णायक हुन्छ। यही पृष्ठभूमिमा “छलफलमा विविधता, निर्णयमा एकता” भन्ने सिद्धान्त नेकपा (एमाले) को कार्यशैलीमा प्रकट हुँदै आएको छ। यो केवल नारामात्र नभई लामो पार्टी इतिहास, सङ्गठन निर्माणको अभ्यास, राजनीतिक सङ्घर्ष र सरकार सञ्चालनको अनुभवबाट उत्सर्जित दर्शन हो।
बहुविचारको परम्परा र वैचारिक बहसको स्वीकृति
नेकपा एमालेको उत्पत्ति स्वयं वैचारिक बहसको उपज हो। २००६ सालदेखि कम्युनिस्ट आन्दोलन नेपालमा प्रवेश गरेपछि, त्यसको विकास क्रम विभिन्न धार, गुट र राजनीतिक मोडबाट गुज्रिएको छ। नेकपा एमाले २०४९ सालमा पुनर्गठन भएपछि बहुविचार, छलफल र वैचारिक स्पष्टताको अभ्यासलाई संस्थागत बनाउँदै आएको छ।
यस पार्टीमा विभिन्न धारका नेताहरूले पार्टीभित्रै बसेर बहस गरेका छन् – चाहे त्यो जनताको बहुदलीय जनवाद (जवज) को व्याख्या होस्, कि संविधानसभाको रणनीति होस्, संघीयता र गणतन्त्रमा धारणा विकासको प्रश्न होस् वा संसदीय प्रणालीसँग सहअस्तित्वको व्यवहारिकता होस् – सबैमा गहिरो वैचारिक बहस हुने गरेको छ। तर, यी बहसहरू पार्टीको सांगठनिक निर्णयमा एकतामा परिणत भएका छन्। यही हो – “छलफलमा विविधता, निर्णयमा एकता” को वास्तविक अभ्यास।
सांगठनिक पद्धति र नेतृत्व निर्माण
नेकपा एमालेले पार्टीमा विचार, नेतृत्व र संरचना निर्माणको स्पष्ट र स्थापित पद्धति अपनाएको छ। बहस, छलफल र निर्णयको संरचना टोल कमिटी देखि केन्द्रीय तहसम्म स्पष्ट रूपमा परिभाषित छ। यसले कार्यकर्तालाई आफ्नो विचार राख्न स्वतन्त्रता मात्र दिएको छैन, त्यसलाई संस्थागत निर्णयसम्म पुर्याउने अवसर पनि दिएको छ।
नेतृत्व निर्माणमा व्यक्ति विशेषको क्षमता, संगठनप्रतिको समर्पण, वर्ग संघर्षको समझदारी, व्यवहारिक अनुभव, र वैचारिक प्रतिबद्धता प्राथमिक आधार हुने गरेको छ। तर, यस प्रक्रियामा कहिलेकाहीँ मनोवैज्ञानिक पक्ष पनि चल्दछ – मन पर्ने व्यक्ति, लोकप्रिय छवि, वा संगठनिक समीकरणले असर पार्दछ। यस्तो स्थितिमा पनि पार्टीले विचार र पद्धति नछाड्ने परम्परा विकास गर्दै आएको छ।
आलोचना–आत्मालोचना र “नोट अफ डिसेन्ट” को परिपाटी
पार्टीको इतिहासमा आलोचना-आत्मालोचना संस्कारले महत्वपूर्ण भूमिका खेलेको छ। तर पछिल्लो समयमा यस संस्कारको अभ्यास केही कमजोर भएको भन्ने आलोचना स्वयं पार्टीभित्र उठेको छ। नेताहरूबीचको मतभेद वा नीतिगत असहमति “नोट अफ डिसेन्ट” मार्फत दर्ज गर्ने परिपाटी हराउँदै गएको छ। यस्तो अभ्यास हराउँदै जानु पार्टीको लोकतान्त्रिक स्वास्थ्यका लागि दीर्घकालीन रूपमा घातक हुन सक्छ।
पार्टीले यसप्रति गम्भीर ध्यान दिन जरुरी छ – किनभने आलोचना-आत्मालोचना र वैचारिक मतभेदले नै पार्टीलाई आत्मपरिक्षण र परिमार्जन गर्न सक्षम बनाउँछ। यस्ता अभ्यासको संस्थागत पुनर्स्थापना अहिलेको आवश्यकतामध्ये एक हो।
सामाजिक सञ्जाल र कार्यकर्ताको व्यवहार
पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल राजनीतिक गतिविधिको महत्वपूर्ण माध्यम बनेको छ। तर, यसले राजनीतिक दलभित्रको अनुशासन, वैचारिक स्पष्टता र आपसी विश्वासमा असर पार्ने चुनौती खडा गरेको छ। नेताहरूका बीचको मतभेद सामाजिक सञ्जालमा बाहिर ल्याई पक्ष–विपक्षको लडाइँ सिर्जना गर्नु, कार्यकर्ताबीच कटुता फैलाउनु, वा नेतृत्वको चरित्रहत्या गर्नु स्वस्थ राजनीतिक अभ्यास होइन।
एमालेका कार्यकर्ताहरूले सामाजिक सञ्जालको उपयोग विवेकपूर्वक गर्नुपर्ने आवश्यकता देखिन्छ। आलोचना आवश्यक छ, तर संयमित र संगठित ढङ्गमा हुनुपर्छ। “वादेवादे जायते तत्व बोध” भन्ने भनाइले बहसबाटै सत्यको बोध हुन्छ भन्छ, तर त्यो बहस सिद्धान्त र विवेकमा आधारित हुनुपर्छ, व्यक्तिगत आक्रोश र पूर्वाग्रहमा होइन।
एमाले र अन्य पार्टीहरूको तुलनात्मक विश्लेषण
नेकपा (एमाले) मात्र होइन, नेपाली राजनीति समग्रमा अहिले गम्भीर संक्रमणमा छ। सांसद वा मन्त्री भएपछि गाउँ फर्किन नचाहने प्रवृत्ति, आन्तरिक गुटबन्दी, नेतृत्वको एकाधिकार, वा नयाँ नेतृत्व आउँदा हुने हाेहल्ला – यी सबै समस्या केवल एमालेमा मात्र सीमित छैनन्। काँग्रेस, माओवादी, र अन्य दलमा पनि समान लक्षण देखिन्छन्।
तर, एमालेको सन्दर्भमा यी विषयहरू बढी चर्चामा आउनुको कारण – पार्टीभित्र विचारको जागरूकता, सांगठनिक चेतना र जनतासँगको अपेक्षा हो। जब पार्टी अपेक्षाको उचाइमा हुन्छ, आलोचना पनि गम्भीर हुन्छ। त्यसैले यस्ता विषयमा होहल्ला होइन, गहिरो समीक्षा आवश्यक छ।
विधान संशोधन र नेतृत्वको नयाँ मोडेल
हालै सम्पन्न पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ, जुन साउन ५ गतेको केन्द्रीय कमिटीमा प्रस्तुत हुनेछ। यो विधान संशोधनले पार्टीलाई भावी नेतृत्व, सांगठनिक संरचना र वैचारिक स्पष्टताको नयाँ मोडेलतर्फ लैजाने संकेत गर्दछ।
पदाधिकारीको सङ्ख्या, उमेरको हद, वा नेतृत्वमा लचिलोपन – यस्ता विषयहरू केवल वर्तमान परिप्रेक्ष्यमा होइन, भविष्यमा पार्टी कस्तो बनोस भन्ने दृष्टिकोणबाट हेरिनु आवश्यक छ। दीर्घकालीन प्रभाव मूल्याङ्कन गरी अघि बढ्दा मात्र पार्टी दीगो, जनमुखी र गतिशील बन्न सक्छ।
नेतृत्व चयन, व्यक्तिवाद र विकल्प निर्माणको आवश्यकता
नेतृत्व चयनमा आन्तरिक लोकतन्त्रको अभ्यास कुनै पनि जनपक्षीय राजनीतिक दलका लागि अत्यावश्यक हो। नेतृत्वको निर्णय केवल पदका लागि प्रतिस्पर्धा होइन, विचार, दृष्टिकोण, कार्यशैली र दीर्घकालीन मार्गचित्रको छनोट हो। नेकपा (एमाले) जस्तो सांगठानिक अनुभव र वैचारिक परम्परा बोकेको दलमा यो प्रक्रिया अझै गम्भीर, पारदर्शी र संस्थागत हुन आवश्यक छ।
तर पछिल्ला केही वर्षमा पार्टीभित्र व्यक्तिवादी चरित्रको विकास भयावह रुपमा देखिन थालेको छ। संगठनभन्दा व्यक्ति, विचारभन्दा छवि, पद्धतिभन्दा व्यक्तिगत पहुँच महत्वपूर्ण बनाउने प्रवृत्ति मौलाउँदै जानु पार्टीको आन्तरिक जीवनमा डरलाग्दो र दीर्घकालीन हानिकारक रोगको रूपमा देखिएको छ। यस्तो प्रवृत्तिले पार्टीभित्र आलोचना-आत्मालोचना, लोकतान्त्रिक बहस र नेतृत्व निर्माणको प्राकृतिक प्रक्रिया सबैलाई कमजोर पार्दछ।
पार्टीभित्र व्यक्तिवाद हुर्कनु भनेको संगठनको सामूहिकता कमजोर पार्नु हो। यस्तो प्रवृत्तिले संस्थागत विधिलाई विस्थापित गर्छ, नेतृत्वको वैधता घटाउँछ, र वैचारिक स्पष्टता धुमिल बनाउँछ। यसैले, यो रोगको जडसहित अन्त्य गर्नु अनिवार्य छ। संगठनमा व्यक्तित्वको भूमिका हुन्छ, तर त्यो व्यक्तिवादमा परिणत हुन दिनु आत्मघाती हुन्छ।
यस्तै, अहिले देखिएको अर्को समस्या हो — “नेतृत्व निर्विकल्प” भन्ने खतरनाक सोच। कुनै पनि व्यक्तिलाई नेतृत्वमा एकछत्र बनाउने सोच लोकतन्त्रको विरुद्धमा जान्छ। पार्टीमा नेतृत्व निर्विकल्प हुँदैन – विकल्प तयार हुन्छ, हुनुपर्छ, र त्यसको बाटो खुला राखिनुपर्छ। नेतृत्व विकल्प तयार गर्नु नेतृत्वकै सशक्तता हो, प्रतिस्पर्धाबाट नेतृत्व निखारिन्छ, विकल्पबाट संगठन मजबुत बन्छ।
विकल्प निर्माण डर होइन, शक्ति हो। त्यसैले, हाम्रा पार्टी संरचनाहरू – पोलिटब्युरो, केन्द्रीय कमिटी, प्रदेश र जिल्ला तहका संरचनाहरूले वैकल्पिक नेतृत्वको विकासलाई प्रोत्साहन गर्ने वातावारण सिर्जना गर्नुपर्छ। युवा कार्यकर्ता, महिलाहरू, जनजाति–मधेशी समुदाय र श्रमिक वर्गबाट आएका नेताहरूलाई अग्रसरता दिई समावेशी नेतृत्व खडा गर्न सक्नुपर्छ।
नेतृत्व सधैं विचार, क्षमता, प्रतिबद्धता र सङ्गठनिक निष्ठाको आधारमा चयन हुनुपर्छ। केवल लोकप्रियता, पुरानो रेकर्ड वा प्रभावका कारण नेतृत्व कायम रहनु, दीर्घकालीन रूपमा संगठनको आत्मा र गन्तव्य दुवै बिग्रने सम्भावना हुन्छ।
संगठन र समाजबीचको सम्बन्ध
राजनीतिक दल केवल चुनाव जित्ने संस्था होइन – त्यो सामाजिक रूपान्तरणको संयन्त्र हो। नेकपा एमालेले शिक्षित युवा, श्रमिक वर्ग, किसान, मध्यम वर्ग र महिला–जनजातिका मुद्दाहरू उठाउँदै आएको छ। संगठन र समाजबीचको सम्बन्ध जति गहिरो हुन्छ, पार्टी उति नै जनमुखी हुन्छ।
तर, मन्त्री–सांसद बनेपछि जनताको पहुँचबाहिर जाने प्रवृत्ति पार्टीको छविमा दाग लाग्ने कारण बनिरहेको छ। यो समस्या सबै पार्टीमा छ, तर एमालेले यसको लागि विशेष ख्याल गर्नुपर्ने हुन्छ – किनभने यसको आधार जन–सम्पर्क, अनुशासन र वैचारिक निष्ठामा आधारित छ।
विवेक, एकता र भविष्यप्रतिको प्रतिबद्धता
नेकपा (एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख धार हो। यसले राज्यसत्ता, राजनीतिक प्रतिपक्ष, जनसंघर्ष, र विकास निर्माणका हरेक पाटोमा भूमिका निर्वाह गर्दै आएको छ। तर, यो इतिहासमात्रै होइन – भविष्यप्रतिको मार्गदर्शक पनि हो।
“छलफलमा विविधता, निर्णयमा एकता” भन्ने नारालाई व्यवहारमा रूपान्तरण गर्ने काम सजिलो छैन, तर यसैले पार्टीलाई बलियो बनाउँछ। व्यक्तिगत रुचि, असहमति र असन्तोष स्वाभाविक हुन्छन्, तर तिनलाई संस्थागत प्रक्रियाबाट समाधान गर्ने पद्धति पार्टीको मेरुदण्ड हो।
कार्यकर्ताले गम्भीर बन्नु, संयमित भाषा प्रयोग गर्नु, सामाजिक सञ्जालमा विवेक अपनाउनु, र सैद्धान्तिक स्पष्टता राख्नु – आजको आवश्यकता हो। पार्टीभित्रको बहस, आलोचना–आत्मालोचना, विचार र कार्यको बीचको सम्बन्ध सन्तुलित बनाएर मात्रै नेकपा (एमाले) भविष्यमा पनि “राष्ट्रिय हितमा, जनताको पक्षमा” रहन सक्छ।






