१२ भदौ, काठमाडौं – नेपालको पहिलो कृत्रिम बुद्धिमत्ता (एआई) सुरक्षा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। यो सम्मेलनले ६० भन्दा बढी प्रतिष्ठित प्राविधिक विशेषज्ञ, विद्यार्थी, र आविष्कारकहरूलाई एक ठाउँमा भेला गरेको थियो। सम्मेलनको उद्देश्य नेपालको एआई विकास र प्रयोगमा जिम्मेवार, नैतिक, र दूरदर्शी दृष्टिकोणको प्रवर्द्धन गर्दै राष्ट्रिय स्तरमा संवाद सुरु गर्नु हो।
कार्यक्रम नेपाली संस्थान ‘एनोभेटर्स’ र बेलायत स्थित गैर-नाफामूलक संस्था ‘ब्लुडट ईम्प्याक्ट’को संयुक्त आयोजनामा भएको थियो। क्ताहरूले सम्मेलनमा सूचनात्मक प्रस्तुतिहरू दिँदै जिम्मेवार र नैतिक एआई विकासको महत्त्वबारे चर्चा गरे। सम्मेलनको मुख्य आकर्षण नेपाल सरकारका पूर्वसचिव, मधुकुमार मरासिनीको किनोट स्पिच थियो। उनले “एआई गभर्नेन्स: एआई सुरक्षा र गभर्नेन्सका लागि नीतिगत आधारहरू” भन्ने विषयमा आफ्नो विचार प्रस्तुत गरे। मरासिनीले प्रविधिको तीव्र विकास र नेपालमा जिम्मेवार एआई प्रणाली निर्माणको प्रयासहरूको बारेमा चर्चा गर्दै, नवीनतम प्रविधिहरू अपनाउँदै अघि बढ्न र सबै नागरिकलाई डिजिटल प्रविधिमा सचेत बनाउनको आवश्यकता जोड दिएका थिए। उनले भने, “नेपाललाई एआई गभर्नेन्समा पछाडि परेकाहरूको सूचीमा राख्नु हुँदैन। सरकारले एआईलाई आत्मसात गर्दै हरेक नागरिकलाई घरबाटै सरकारी सेवाहरू पहुँच योग्य बनाउन काम गर्नुपर्छ।”
नेपालका पहिलो कम्प्युटर अपरेटर, नीलकण्ठ उप्रेतीले सम्मेलनमा भाग लिएका सबैलाई नेपालका ५५ वर्ष पुराना कम्प्युटर प्रविधिका ऐतिहासिक घटनाबारे जानकारी दिए। उनले वि.सं. २०२८ को जनगणना नतिजा प्रशोधन गर्न प्रयोग भएको आईबीएम १४०१ मेनफ्रेम कम्प्युटर र राष्ट्रिय कम्प्युटर केन्द्रमा आफ्नो योगदानको बारेमा सन्देश दिए। ‘सिंगापुर एआई सुरक्षा हब’को प्रतिनिधित्व गर्दै भर्चुअल रूपमा सहभागी भइ, भ्यालेरी प्याङ्ले दक्षिणपूर्वी एशियामा लागू भएका उत्कृष्ट एआई सुरक्षा अभ्यासहरूबारे जानकारी दिइन्। उनले सिंगापुरमा एआई सुरक्षा र जिम्मेवार एआई विकासका लागि भइरहेको सहयोगात्मक प्रयासहरूको बारेमा सन्देश दिइन्।
अतिथि वक्ताहरू प्रकृति भट्टराई र चन्दन गुप्ताले सहभागीहरूलाई एआई युगमा तयारी गर्न, एआई सम्बन्धी असमानता र विभेदको सामना गर्न, र दैनिक कार्यमा एआईको नैतिक र जिम्मेवार प्रयोगका लागि सीपहरू सिकाए। कार्यक्रमको अन्त्यमा, प्रतिक दाहालले लार्ज ल्याङ्गविज मोडल (एलएलएम) सँग सम्बन्धित जोखिमहरूको बारेमा पनि प्रकाश पारे। अन्त्यमा, एआईसँग सम्बन्धित एक अन्तरक्रियात्मक हाजिरी-जवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। प्रतियोगिताका दुई विजेतालाई २०० अमेरिकी डलरको मूल्य बराबरको ‘पप्र्लेक्सिटी प्रो इन्टरप्राइज एडिसन’ को ६ महिनाको निःशुल्क सदस्यता प्रदान गरियो।






