बुटवल । बुटवल-१५ सेमलारस्थित सिद्धि गणेश भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मंगलबार निःशुल्क मृगौला रोग परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालमा पछिल्लो समय बढ्दो मृगौला सम्बन्धी समस्याको समयमै पहिचान गरी रोकथाम गर्न सकियोस् भन्ने उद्देश्यसहित सहकारीले आफ्नै प्रधान कार्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
नेपाल किड्नी फाउन्डेसनको सहकार्यमा आयोजित उक्त शिविरमा सहकारीका सदस्य तथा सर्वसाधारण गरी ३०० भन्दा बढी व्यक्तिको मृगौला परीक्षण र औषधि वितरण गरिएको सहकारी अध्यक्ष कृष्णप्रसाद भुसालले जानकारी दिए ।
शिविरमा डा. शक्ति बस्नेतसहित नेपाल र विदेशका गरी १५ जना विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले अत्याधुनिक प्रविधिबाट रगत, पिसाब र क्रिटिनाइन परीक्षण गरी तुरुन्तै रिपोर्ट प्रदान गरेका थिए।
डा. शक्ति बस्नेतले मृगौला ८० प्रतिशतसम्म क्षति भएपछि मात्र लक्षण देखिने भएकाले ४० वर्ष उमेर कटेका सबै नागरिकले हरेक वर्ष मृगौला परीक्षण गर्न आवश्यक रहेको बताएका थिए ।
२०५६ सालमा स्थापना भएको सहकारीले सामाजिक अभियान सञ्चालन गर्दै आएको छ । सहकारीमा हाल ६ हजार ११८ शेयर सदस्य रहेका छन् ।
नेपाल किड्नी फाउन्डेसनले सेमलारसहित रुपन्देहीका चार स्थानमा मृगौला स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ । फाउन्डेसनका अध्यक्ष डा. बस्नेतका अनुसार बुटवल, लुम्बिनी र छपियामा समेत शिविर आयोजना हुनेछ ।
फाउन्डेसनले चारै शिविरमार्फत १ हजार २०० जनालाई सेवा पुर्याउने लक्ष्य राखेको छ । उनका अनुसार फाउन्डेसनले पछिल्ला दश वर्षमा ३० हजारभन्दा बढी व्यक्तिको मृगौला परीक्षण गरिसकेको छ ।






