१५ भदौ,काठमाण्डौ – पर्सामा हैजा संक्रमितको संख्या बढ्दै गई १७५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। भदौ ६ गते पहिलो पटक तीन जनामा हैजा पुष्टि भएकोमा त्यसयता संक्रमित क्रमशः बढ्दै गएको हो।
संक्रमितमध्ये १५९ जना वीरगञ्ज महानगरपालिकाका र १६ जना पोखरिया नगरपालिकाका छन्। वीरगञ्जमा हालसम्म झाडापखालाका ८०४ बिरामी अस्पतालमा भर्ना भएका छन्। तीमध्ये ३० जना हिजो बिहान १० बजेपछि थपिएका हुन्। हालसम्म १९५ जना बिरामी उपचाररत छन्, जसमा ४७ जना हैजा संक्रमितसमेत छन्। पोखरियामा पनि ३० जनामा झाडापखाला देखिएको छ, जसमा १६ जनामा हैजा पुष्टि भएको हो।
एक सातादेखि वीरगञ्जका सबै शैक्षिक संस्था बन्द गरिएको छ। खानेपानी शुद्धिकरण र सरसफाइमा स्थानीय तह र सरकार सक्रिय रहे पनि संक्रमित थपिने क्रम रोकिएको छैन।
यद्यपि प्रारम्भमा शंका गरिएको खानेपानीमा हैजाको जीवाणु भेटिएको छैन। दस दिन बितिसक्दा पनि रोगको वास्तविक स्रोत पत्ता नलागेपछि नियन्त्रण चुनौतीपूर्ण देखिएको छ। लगातार नयाँ बिरामी भेटिनु र स्रोत पहिचान नहुनुका कारण वीरगञ्जसहित पर्सामा हैजाप्रति चिन्ता अझै बढिरहेको छ।






