२१ असोज, काठमाडौं- देशभर मनसुन कमजोर बन्दै गए पनि पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रका धेरै स्थानहरूमा र गण्डकी प्रदेशका केही पश्चिमी भूभागमा पश्चिमी वायुको असर देखिएको छ। यसको प्रभावले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
गत २४ घण्टामा सबैभन्दा धेरै डडेलधुराको ज्यामिरखालमा ६१.२ मिलिमिटर वर्षा मापन गरिएको छ भने सिन्धुलीको मरिनमा ५४ मिलिमिटर वर्षा भएको छ।
मौसमविद्हरूका अनुसार आज र भोलि पनि पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षा तथा अन्य क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रहरू साथै अन्य प्रदेशका पहाडी भागमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने सम्भावना छ।
आज राति पनि लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भागका केही स्थानमा र अन्य तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।
मनसुन बाहिरिन सुरु
यसैबीच, पूर्वी वायुसँगै मनसुन नेपालबाट बाहिरिन सुरु गरिसकेको मौसम विभागले जनाएको छ।
हिजो असोज २० गतेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ। सोही दिन लुम्बिनीको पश्चिमी भूभाग र गण्डकीको केही पश्चिमी क्षेत्रमा पनि मनसुन बाहिरिएको हो।
अबको केही दिनमै बाँकी क्षेत्रहरूबाट पनि मनसुन पूर्ण रूपमा बाहिरिने विभागले जनाएको छ।
सामान्यतः नेपालमा मनसुन जुलाई १३ (असार २९) मा भित्रिन्छ र अक्टोबर २ (असोज १६) मा बाहिरिन्छ। तर, यस वर्ष मनसुन मे ३० (जेठ १६) मा, अर्थात १५ दिनअघि नै भित्रिएको थियो। बाहिरिने भने चार दिन ढिलो भई अक्टोबर ६ (असोज २०) देखि सुरु भएको हो।






