१ मंसिर काठमाण्डौ – प्रतिनिधिसभा चुनाव आगामी फागुन २१ गते हुने भएपछि निर्वाचन आयोगले सम्पूर्ण कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीका लागि मनोनयनदेखि उम्मेदवारी फिर्तासम्मका सबै प्रक्रिया तय गरेको हो।
प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन माघ ६ गते हुनेछ। सो दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गरिनेछ। त्यसपछि बेलुका ५ देखि ७ बजेसम्म प्रारम्भिक उम्मेदवार सूची प्रकाशित गरिने आयोगले जनाएको छ।
माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ। उजुरी परीक्षणपछि माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्म संशोधित नामावली सार्वजनिक गरिनेछ।
उम्मेदवारी फिर्ता लिन माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय दिइएको छ। सोही दिन दिउँसो ३ बजेभित्र अन्तिम नामावली सार्वजनिक गर्दै चुनाव चिन्ह तोकिइनेछ।
समानुपातिकतर्फको प्रक्रिया भने मङ्सिर २० गतेदेखि सुरु हुनेछ। समानुपातिक निर्वाचनमा सहभागी हुन इच्छुक दलले मङ्सिर २१ देखि २३ गतेभित्र निवेदन दर्ता गर्नुपर्नेछ। आयोगले मङ्सिर २४ गते निवेदन दर्ता गराएका दलको नामावली प्रकाशित गर्नेछ।
समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्न पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म समय तोकिएको छ। अन्तिम बन्द सूची माघ २० गते सार्वजनिक गरिने कार्यक्रम छ।






