२३ असोज, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै यसको पुनर्स्थापनाको माग गर्दै अघि बढ्ने घोषणा गरेका छन्।
भक्तपुरको गुण्डुमा आयोजित एमालेको कार्यक्रममा ओलीले लोकतन्त्रको रक्षा र पुनर्बहालीका लागि संसद् पुनर्स्थापनाको आवश्यकता रहेको बताए।
“सही समयमै कदम चाल्न नसके पछि पश्चाताप मात्र बाँकी रहन्छ,” ओलीले भने, “केही मानिसहरू भन्छन् कि फागुन २१ गते चुनाव नभएपछि मात्र संसद् पुनर्स्थापनाको माग गरौंला। तर संसद् विघटन आफैंमा असंवैधानिक, गैरकानुनी र अलोकतान्त्रिक छ। यो देशको हितविपरीत छ भन्ने हामीलाई थाहा छैन र? किन फागुन २१ सम्म पर्खनु?”
ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा जनता सडकमा आउने विश्वास व्यक्त गरे। “अब हामी अघि बढ्ने बेला आएको छ,” उनले भने, “नेपाली जनताले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछन्।”
उनले संसद् विघटनको कारणको रूपमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन गरिएको अडानलाई पनि उल्लेख गरे। “संविधान विपरीत ढंगले संसद् विघटन गरिएको छ। यस्तो अधिकार कसले दियो? कहाँबाट आयो त्यो अधिकार?” ओलीले प्रश्न गरे।
उनका अनुसार संसद् र संविधान कायम राखेर समाधान खोज्ने सबै पक्षमा सहमति भए पनि त्यसविपरीत कदम चालियो। “त्यति बेला मसँग भएका कुराकानीमा सबै पक्षले संविधान र संसद् जोगाएर निकास खोज्न सहमति जनाएका थिए,” उनले दाबी गरे।
ओलीले राजनीतिक दलहरूलाई पन्छाएर वार्ता र सरकार गठन गर्ने प्रयास गरिएको, अनि त्यसै क्रममा संसद् विघटन गरिएको आरोप लगाए। “सरकारले राजीनामा दिनुपर्ने, तर वार्ता अर्कैले गर्ने? यस्तो त दुनियाँमा कतै देखिन्न,” उनले भने।
उनले प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा नेपाली कांग्रेस पनि साथमा रहने विश्वास व्यक्त गरे।






