भक्तपुर मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा, सिद्धपोखरीमा भक्तजनको भीड

Shares

२२ भदौ,काठमाण्डौ – भक्तपुरको मध्यपुरथिमिमा आज परम्परागत जिब्रो छेड्ने जात्रा मनाइँदैछ। जात्रा बेलुकी ७ बजे मध्यपुरथिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट सुरु हुनेछ। यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनेछन्।

जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठका अनुसार, श्रेष्ठले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेड्ने परम्परा पूरा गरेर काँधमा महादीप बोकी दिगु भैरवलाई तीन पटक प्रदक्षिणा गर्नेछन्। त्यसपछि निगु पुखुः, लाय्कू हुँदै क्वालाखु (बालकुमारी) थास्मा पुगेर गणेशको दर्शन गरिने व्यवस्था छ।

मध्यपुरथिमिमा दुईवटा जिब्रो छेड्ने जात्रा प्रचलित छन्। पहिलो, वैशाख २ गते बिस्काः जात्राका अवसरमा बोडेमा हुने जात्रा। दोस्रो, इन्द्रजात्राको भोलिपल्ट थिमिमा मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’। दुवै जात्राको आ–आफ्नै सांस्कृतिक महत्व छ।

यसैबीच, आज भदौ शुक्ल पूर्णिमाको अवसरमा भक्तपुरको प्रसिद्ध धार्मिक स्थल इन्द्रदह (सिद्धपोखरी)मा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। इन्द्रजात्राको भोलिपल्ट यहाँ प्रत्येक वर्ष मेला लाग्ने परम्परा छ। इन्द्रजात्राको दिन बेलुकी इन्द्रायणी देवीलाई बाजागाजासहित इन्द्रदह पुर्याइने गरिन्छ। आज इन्द्रदहमा स्नान गरी देवीको दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.