काठमाण्डौ – सुक्खाग्रस्त मधेशसहित तराई क्षेत्रमा भएको पछिल्लो वर्षाले किसानलाई केही राहत भएको छ ।
लामो समयदेखिको खडेरीले आहत तराई/मधेश क्षेत्रमा गएराति हल्कादेखि मध्यम र कतैकतै ठूलो पानी परेपछि केही राहत भएको हो ।
किसानमा धानको रोपो जाग्ने आश जागेको छ । ‘अबचाहिँ रोपो मर्दैन कि, रोपिएको खेतमा यसअघि परेको चिरा पुरिएका छन्, रोपो पनि फेरिएको छ’, महोत्तरीको भङ्गाहा–३ कटैयाका किसान विजय यादवले भन्नुभयो, ‘पछिल्ला दिनको वर्षाले रोपोलाई केही राहत मिल्यो ।’
यसअघि इनार, बोरिङ्ग स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किसानले बताएका छन् ।
धानको रोपाइँ नै गर्नेगरी ठूलो पानी नपरे पनि यसअघि रोपिएको धानलाई भने केही चिस्यान भएको किसानको भनाइ छ ।
पहेँलिँदै गएको रोपो अब फेरिएला भन्ने लागेको बर्दिबास–७ प्रेमनगरका किसान रामउद्गार महतो बताउनुहुन्छ । ‘खेत हिल्याउने गरी त पानी पर्न सकेन, तर सुक्खाले आहत भएका बेला परेको पानीले जमिनको प्यास मेटायो ।’ उहाँले भन्नुभयो ।
कृषि ज्ञान केन्द्र महोत्तरीका वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादवले रोपाइँ थप बढाउने गरी पानी पर्न नसके पनि पछिल्लो वर्षाले यसअघिको रोपोलाई राहत नै भएको बताउनुहुन्छ ।
सुक्खाग्रस्त मधेशमा यसपाली अहिलेसम्म पर्याप्त धान रोपाइँ हुन सकेको छैन । मधेशका आठ जिल्लामा खानेपानीको समेत हाहाकार छ ।






