२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकमा उनले यो प्रस्ताव राखेका हुन्।
यसअघि “जेनजी आन्दोलन” पछिल्लो चरणमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै आएका थिए। तर, पछिल्लो बैठकमा महामन्त्री थापाले आगामी मंसिर महिनामै नियमित महाधिवेशन गर्ने प्रस्तावसहित प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्।
बैठकपछि बाहिरिँदै नेता डा. शशांक कोइरालाले महामन्त्री थापाले बैठकमा राखेको प्रस्तावबारे सञ्चारकर्मीलाई जानकारी दिएका थिए।
यसैबीच, बिहीबार नै आफ्नै निवासमा केही नेताहरूसँगको छलफलमा नेता कृष्ण सिटौलाले महामन्त्रीद्वयको हस्ताक्षर संकलन अभियानले पार्टीमा विभाजनको खतरा उत्पन्न हुनसक्ने चेतावनी दिएका छन्।






