पूर्वमन्त्री एवं कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी जोडिएको मितेरी सहकारी ठगी प्रकरणका तीन अभियुक्तको बयान र थुनछेक बहस आज छैटौँ दिन पनि हुँदै छ।
ललितपुर जिल्ला अदालतमा न्यायाधीश निर्मला योङयाको इजलासमा यस मुद्दाको सुनुवाइ चलिरहेको छ।
भदौ १ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा २ गतेदेखि बयान सुरु भएको हो। बयान सकिएर थुनछेक बहस नसकिएपछि प्रत्येक दिन हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।
८ जना प्रतिवादी रहेको यस मुद्दामा प्रहरीले ३ जना मात्र पक्रेर अदालतमा पेस गरेको छ। पक्राउ परेका अभियुक्तहरू बर्दियाका ४३ वर्षीय ज्योतिबहादुर भण्डारी, ३४ वर्षीय सुरेश अधिकारी र धादिङका ३६ वर्षीय सुवास खत्रीलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउने कि बाहिरै बसेर मुद्दा लड्न दिने भन्ने विषयमा बहस भइरहेको छ।
धनराजपत्नी ज्योति गुरुङसहित ५ जना फरार छन्।
फरार रहनेमा स्याङ्जाकी ४७ वर्षकी ज्योती गुरुङ, स्याङ्जाकै ८१ वर्षका कुम्भराज गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदिप भन्ने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३ वर्षका अर्जुन अराम रहेको अभियोगपत्रमा उल्लेख छ।
ठगी, लिखत कसुर, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र संगठित अपराधमा उनीहरूविरूद्ध मुद्दा चलाइएको छ।
अभियुक्त थोरै भए पनि मुद्दा धेरै भएकाले थुनछेक बहस सकिन समय लागेको अदालत प्रशासनको भनाइ छ।






