यादका बिस्कुन: बाल्यकालका स्मृतिले भरिएको आत्मभाव कविताः डीबीजी

Shares

यादका बिस्कुन !
कविता
डीबीजी

वरमूनीको धारो
सातपत्रे जंगल
भूतेरह
अनि बाउन्ने खोल्सो छाडेर
बटौली झरेको थुप्रै हिउँद बिते।

सिजनमा
फँडेर र जमुना टिपेर
मुखै रंगाएर खाइन्थ्यो
फुटालेर बेल, बाँदर भिइन्थ्यो!

टिपेर काँचा आँपहरू
पारेर पोका, बोरा मा लुकाइन्थ्यो
मेरै कारण
बेलौतीले बतिलामै सति जानु पर्थ्यो!

दसैंछेका
काँक्रामा आँखाभन्दा अघि हात जान्थे
भोकेटेहरू भोकका आहारा बन्थे!

अचेल यादका
बिस्कुन सुकाउन मन लाग्छ मनभरि!

बटौली झरेपछि
बासेको छैन कालिज यता
न कराएका छन् बँदेल र दुम्सीहरू
बरु चिच्याइरहेछन् स्याल र फ्याउरा
उतिबेला ……!

खामेर हिँडेको हुँ सालको रुख
छामेर हिँडेको हुँ बोटधारेरो
अनि थाकललाई थन्क्याएर पनि
सम्झिन्छु
लाटाको केसरा र ममा के अन्तर?

तैपनि
मनमा कुरा खेलिरहन्छन्–
सलिफा फल्दै होलान् र?
चुँदाले दाइले गोल पोल्न छाडे कि?

म भने सम्झिरहेछु
जारकाटेको बढेमानको ढुंगा
सय वर्ष काटेको फलामे पुल
अनि
चैते बाजेले पूजा गर्ने कालिका मन्दिर!

साँचिकै यादहरूले सताइरहेछ मलाई!

(रचनाकाल : २०८२ कार्तिक मसान्त)

😀
0
😍
0
😢
0
😡
0
👍
3
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.