बुटवल / रुपन्देहीमा शुक्रवार दिनभर हटाइएको निषेधाज्ञा र कर्फ्यु रातीदेखि फेरी जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले रातीको समयमा हुनसक्ने प्रदर्शन, जुलुस, झडपजस्ता सम्भावित घटनालाई मध्यनजर गर्दै शुक्रवार राती १० बजेदेखि अर्को आदेश नहुँदासम्म कर्फ्यु र निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जारी गरेको सूचना अनुसार राती १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु र ६ बजेदेखि राती १० बजेसम्म निषेधाज्ञा जारी गरेको हो।
शुक्रवार दिउसो बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३क आदेश अनुसार निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।
कर्फ्यु अवधिमा कसैलाई आवतजावत गर्न, सभा, जुलुस, प्रदर्शन, बैठक, धर्ना जस्ता गतिविधि गर्न निषेध गरिएको छ। त्यस्तै निषेधाज्ञा जारी गरिएको अवधिमा पाँच जनाभन्दा बढी भेला भई सभा, जुलुस, प्रदर्शन, धर्ना, धार्मिक तथा अन्य कोणसभामूलक कार्यक्रम गर्न पाइने छैन।
जिल्ला प्रशासन कार्यालयले आदेश उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुन अनुसार कडा कारबाही हुने चेतावनी दिएको छ।






