लाल सागरको समुद्रमुनि बिछ्याइएका इन्टरनेट केबल काटिँदा माइक्रोसफ्टको एजर क्लाउड सेवामा अवरोध आएको छ। विश्वका प्रमुख क्लाउड कम्प्युटिङ प्लेटफर्ममध्ये एक एजर इन्टरनेट सेवा प्रभावित भएको बीबीसीले जनाएको छ। कम्पनीका अनुसार वैकल्पिक मार्गमार्फत सेवा सञ्चालन गरेर केही समस्या समाधान गरिएको छ।
गत हप्तामा सार्वजनिक भएका प्रतिवेदनअनुसार यस घटनाले संयुक्त अरब इमिरेट्ससहित एशियाका कतिपय मुलुकमा इन्टरनेटमा असर पारेको थियो। समुद्रमुनि बिछ्याइने केबललाई इन्टरनेटको मेरुदण्ड मानिन्छ, जसले महादेशबीच सञ्चार र डाटा आदानप्रदान सहज बनाउँछ।
इन्टरनेट पहुँचको निगरानी गर्ने संस्था नेटब्लक्सले भारत र पाकिस्तानसहितका देशमा पनि असर परेको उल्लेख गरेको छ। यसअघि सन् २०२४ को फेब्रुअरीमा समेत लाल सागरमा सञ्चार केबल काटिँदा एशिया–युरोपबीचको इन्टरनेट सेवा अवरुद्ध भएको थियो।
Post Views: 698






