बुटवल, ११ माघ रुपन्देहीस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयको सञ्चालन तथा व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारीहरूले पदभार ग्रहण गर्नुभएको छ। मन्त्रालयको गत पुस ३० गतेको निर्णयअनुसार नवनियुक्त अध्यक्ष शालिकराम भुसाल र सदस्य विमला श्रेष्ठले आइतबार एक विशेष समारोहका बीच औपचारिक रूपमा पदभार सम्हाल्नुभएको हो।
पदभार ग्रहण गरेपश्चात् बोल्दै अध्यक्ष शालिकराम भुसालले चिकित्सालयको विकासका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुभयो। उहाँले अस्पतालको सेवा विस्तार, विशेषज्ञ सेवाको सुनिश्चितता र गुणस्तर अभिवृद्धि आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो।
अध्यक्ष भुसालका मुख्य योजनाहरू:
• योजना निर्माण: अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू तुरुन्तै तयार गरी कार्यान्वयनमा लैजाने।
• रिफरल हब: अस्पताललाई आर्थिक रूपमा सबल बनाउँदै यस क्षेत्रकै एक सशक्त ‘रिफरल अस्पताल’को रूपमा विकास गर्ने।
• कार्यविभाजन: नीतिगत नेतृत्व समितिको हुने र दैनिक प्रशासनिक एवं कर्मचारी व्यवस्थापनको जिम्मेवारी प्रशासनको हुने गरी स्पष्ट कार्यदिशा तय गर्ने।
• स्रोत जुटाउने: अस्पतालको श्रीवृद्धिका लागि आवश्यक भौतिक तथा वित्तीय स्रोत जुटाउन सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्ने।
अस्पताल विकास समितिकी नवनियुक्त सदस्य विमला श्रेष्ठले चिकित्सालयको उन्नतिका लागि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष शिव ज्ञवालीले आफ्नो कार्यकालका अनुभव सुनाउँदै आयुर्वेद क्षेत्रलाई राज्यले अझै अपेक्षित प्राथमिकतामा नराखेको गुनासो गर्नुभयो। सोही अवसरमा चिकित्सालयका तर्फबाट ज्ञवालीलाई ससम्मान बिदाइ समेत गरिएको थियो।
चिकित्सालयकी प्रमुख डा. कलावती बिकको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन वरिष्ठ कविराज गणेश सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि, चिकित्सक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।






