३१ साउन,बुटवल- नेपाली साहित्यको निरन्तर प्रवर्द्धनका लागि प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना हुँदै आएको साहित्य संगम बुटवलको ३२५ औं मासिक श्रृङ्खला शनिबार न्यू होराइजन मा.वि. कालिकानगर, बुटवलमा विविध साहित्यिक रचनावाचन, समालोचना र वैचारिक प्रस्तुतीकरणसहित सम्पन्न भएको छ ।
कार्यक्रममा वरिष्ठ समालोचक ऋषिराम भुसालले प्रस्तुत रचनाहरूलाई छुट्टाछुट्टै समीक्षा गर्दै लेखक–साहित्यकारहरूले राज्यप्रति सधैं आलोचनात्मक दृष्टिले मात्र नभई समालोचनात्मक र सकारात्मक दृष्टिकोणबाट पनि हेर्नुपर्ने विचार व्यक्त गर्नुभयो । साथै उहाँले “कविता के हो ? र कसरी लेख्ने ?” भन्ने विषयमा विशेष प्रस्तुति दिनुहुँदै कविताको संरचना, लय, संवेदना र विचारका विविध पक्षहरूको विस्तृत विवेचना गर्नुभयो । भुसालले लेख रचनामा देखिने सामान्य भूलहरूबारे चर्चा गर्दै सचेत कलात्मक प्रयोगमार्फत रचनालाई अझ प्रभावकारी बनाउन सकिने सुझाव दिनुभयो ।
कार्यक्रमका सभाध्यक्ष दलबहादुर गुरुङले साहित्य संगमको मासिक श्रृङ्खलाले बुटवललाई साहित्यिक केन्द्रका रूपमा परिचित गराउँदै आएको उल्लेख गर्दै सिर्जनशीलता, चेतना र अभिव्यक्तिलाई निरन्तरता दिनु नै यस संस्थाको मूल उद्देश्य रहेको बताउनुभयो । गुरुङले साहित्यकार र स्रष्टाहरूबीच संवाद, आलोचना र पारस्परिक सिकाइलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नु साहित्य संगमको प्रमुख उपलब्धि भएको धारणा राख्नुभयो ।

श्रृङ्खलामा डा. रेवतीरमण पौडेल, कृष्ण गाउँले, यज्ञलाल सुवेदी, गणेश भण्डारी, मनु अधिकारी, विमर्श बस्नेत, संगम अनुरागी, आरुसी ज्ञवाली, विद्या गुप्ता, रविना अधिकारी, सागर केसी, सुहाना न्यौपाने, यदु लामिछाने, जगत चापागाई, संगम सापकोटा, कुशल पौडेल, नारायण प्रसाद भण्डारी र सरोजमान सिंहलगायत स्रष्टाहरूले कविता, गजल, कथा, लघुकथा, निबन्ध लगायतका विधामा आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन शालिकराम पौडेलले गर्नुभएको थियो । सहभागीहरूको भनाइअनुसार, यस श्रृङ्खलाले नेपाली साहित्यमा सिर्जनशील अभ्यासलाई निरन्तरता दिनुका साथै कविताको गहिरो संरचना र सिर्जनात्मकतामाथि थप दृष्टिकोण प्रस्तुत गरी नयाँ सन्देश दिएको छ ।
साहित्य संगम बुटवलले स्थापना कालदेखि नै निरन्तर सञ्चालन गर्दै आएको मासिक श्रृङ्खलाले बुटवललाई देशकै सक्रिय साहित्यिक केन्द्रका रूपमा परिचित गराउन योगदान पु¥याउँदै आएको छ ।







