हुस्सुभित्र हराएको सुशासनको नारा: प्रश्न सुन्नासाथ भागे उम्मेदवार”

Shares

बुटवल, माघ २४

बुटवलको चिसो बिहान, मङ्गलापुरको बोधी भिल्लामा एउटा अनौठो दृश्य देखियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्साल पत्रकारहरूमाझ उपस्थित त भए, तर उनीसँग ‘नयाँ भिजन’ होइन, ‘पुरानो डर’ सँगै थियो। ‘जान्नेलाई छान्ने’ नारा बोकेर हिँडेको पार्टीको एउटा उम्मेदवार क्यामेराको अगाडि बोल्न डराउँदै ‘अफ द रेकर्ड’ छलफलको याचना गर्नु नै मङ्गलापुरको त्यो भेटघाटको सबैभन्दा ठूलो व्यङ्ग्य बन्यो।

सुनिल लम्सालले आफूलाई ‘बालेन साहको सचिवालयमा काम गरेको अनुभवी’ पात्रका रूपमा प्रस्तुत गरिरहँदा हलमा उपस्थित पत्रकारहरूले एउटा ठोस भिजनको अपेक्षा गरेका थिए। तर, जब प्रश्नहरू तेर्सिए, लम्सालको बौद्धिक ‘प्रोफाइल’ तातो घाममा राखेको बरफजस्तै पग्लिन थाल्यो। रुपन्देही-१ को समृद्धिका लागि उनीसँग कुनै ठोस योजना थिएन। उनले जे भने, ती कुराहरू दशकौँदेखि पुराना दलले भट्याइरहेका ‘शिक्षा, स्वास्थ्य र कृषि’ भन्दा फरक थिएनन्। आफ्नो व्यक्तिगत सामर्थ्य र स्थानीय एजेन्डा प्रस्तुत गर्न नसक्ने उम्मेदवारले बारम्बार ‘बालेन’ र ‘पार्टी’ को नाम लिनुले उनको राजनीतिक रिक्ततालाई छताछुल्ल पारिदियो।

समाचारको वास्तविक ट्वीस्ट तब आयो, जब पत्रकारहरूले सुशासनको कसीमा उम्मेदवारलाई घोट्न सुरु गरे। विवादित व्यापारी कमल किशोर मालपानीको गाडी प्रयोग गर्ने नेतृत्वको नियत र सङ्घीयताबारेको दोहोरो मापदण्डमाथि प्रश्न उठ्नासाथ लम्सालको आत्मविश्वास मात्र डगमगाएन, उनको अनुहारको रङ पनि बदलियो। गम्भीर प्रश्नहरूको सामना गर्नुको सट्टा “विधान हेर्नुस्” भन्दै पन्छिनुले नयाँ शक्ति भनिएकाहरूको असली चरित्र र प्रश्नप्रतिको असहिष्णुतालाई नराम्रोसँग उदाङ्गो पारिदियो।

उम्मेदवार त प्रश्नको घेराबाट भागेर बाहिरिए, तर उनका राजनीतिक सल्लाहकार भनिएका आशिस सुवेदीले थप ‘अलोकतान्त्रिक’ हर्कत प्रदर्शन गरे। प्रश्न सोध्ने पत्रकारहरूलाई नै ‘पुरानो माइन्डसेट’ को ट्याग भिराएर अपमान गर्नुले के देखाउँछ भने— रास्वपाभित्रको एउटा तप्का आफूलाई प्रश्नभन्दा माथि ठान्दछ। यो प्रवृति ‘पुरानो राजनीति’ को भन्दा पनि घातक ‘नयाँ अहङ्कार’ हो।

मङ्गलापुरको त्यो शीतलहरमा रास्वपाका उम्मेदवारले आफ्नो चुनावी मैदान मात्र होइन, बौद्धिक साख पनि गुमाएका छन्। चर्चित नामको ओत लागेर राजनीति चल्दैन भन्ने प्रमाण हो यो घटना। प्रश्नबाट भाग्ने र प्रश्न सोध्नेलाई नै ‘पुरानो’ देख्ने उम्मेदवारले कस्तो ‘नयाँ’ नेपाल बनाउलान्? यो अब रुपन्देही-१ का मतदाताले सोच्ने बेला आएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.