१६ भदौ, काठमाडौं । अफगानिस्तानमा आएको ६ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउनेको संख्या ६२२ पुगेको छ भने घाइते हुनेको संख्या १५ सयभन्दा बढी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सबैभन्दा बढी क्षति कुनार प्रान्तमा भएको छ, जहाँ ६१० जनाको मृत्यु भएको छ। नाग्गाहारमा १२ जनाको ज्यान गएको छ। भूकम्पले कुनारका तीन गाउँ पूर्ण रूपमा ध्वस्त पारेको छ। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको भनाइ छ।
भूकम्पको केन्द्र जलालावाद शहरदेखि २७ किलोमिटर टाढा १० किलोमिटर गहिराइमा थियो। कम्पन पाकिस्तानको राजधानी इस्लामावादसम्म समेत महसुस गरिएको थियो। मध्यरातमा गएको भूकम्पले माटो र ढुंगाले बनेका अधिकांश ग्रामीण बस्तीका घरहरू भत्किएका छन्।
उद्धार कार्य तीव्र पारिएको छ। हेलिकोप्टरमार्फत प्रभावितलाई उद्धार गरिएको र भग्नावशेषमा फसेकालाई निकाल्ने काम जारी रहेको समाचार संस्था रोयटर्सले जनाएको छ।
तालिबान सरकारको आन्तरिक मन्त्रालयका अनुसार पूर्वी प्रान्तमा ठूलो धनजनको क्षति भएको छ। मन्त्रालयका प्रवक्ता अब्दुल मतेन क्वानीले उद्धार, स्वास्थ्य सेवा र खाद्य सामग्री वितरणका लागि टोली परिचालन गरिएको बताए।
मानवीय संकट र अन्तर्राष्ट्रिय सहयोगको कमीले पहिले नै कमजोर बनेको अफगानिस्तानमा आएको यो भूकम्पले थप चुनौती सिर्जना गरेको छ। सन् २०२२ मा त्यहाँ ६.१ म्याग्निच्युडको भूकम्पमा झण्डै एक हजारले ज्यान गुमाएका थिए। गएराति आएको यो भूकम्प त्यसयताकै ठूलो मानिएको छ।






