अमेरिकाको जर्जिया राज्यको सवाना नजिकै रहेको दक्षिण कोरियाली कम्पनी हुन्डाईको निर्माण कारखानामा छापा मार्दा ४७५ आप्रवासी कामदार पक्राउ परेका छन्। कारखानामा अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीअन्तर्गतको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (ICE) ले छापा मारेको हो। पक्राउ परेकामध्ये धेरैजसो दक्षिण कोरियाली रहेका छन्।
दक्षिण कोरियाको विदेश मन्त्रालयले आफ्ना करिब ३०० नागरिक पक्राउ परेकाे पुष्टि गरेको छ। मन्त्रालयले आफ्ना नागरिक अवैध रूपमा काम गरिरहेकोप्रति दुःख व्यक्त गरेको छ भने उनीहरूमाथि लक्षित छापा मारिएको घटनाप्रति गम्भीर चिन्ता जनाएको छ।
राष्ट्रपति ली जे–म्युङले यस घटनाबारे आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। सरकारी समाचार संस्था योन्हापका अनुसार, छानबिनका लागि विशेष टोली गठन गरिएको छ र आवश्यकता परे अमेरिकी अधिकारीहरूसँग प्रत्यक्ष छलफल गर्न टोली पठाउने तयारी भइरहेको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पक्राउ परेका कामदार अवैध विदेशी भएको दाबी गरेका छन्।






