१ मंसिर काठमाण्डौ – बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। उद्घाटन खेल आज दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा अघिल्लो सिजनका विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज बीच हुनेछ। यसपटकको लिगमा फ्लडलाइट खेलहरू पनि हुनेछन्।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली प्रतिस्पर्धामा छन्। प्रत्येक टोलीमा विदेशी र स्थानीय दुवै खेलाडी समावेश गरिएको छ।
क्यानका अनुसार कुल ३२ खेलमध्ये २३ खेल राति फ्लडलाइटमा खेलाइनेछन्। लिग चरण मङ्सिर २१ गते सकिनेछ। अंक तालिकामा शीर्ष दुई टोलीले मङ्सिर २३ गते पहिलो क्वालिफायर खेल्नेछन्, जसको विजेता फाइनलमा पुग्नेछ। तेस्रो र चौथो स्थान प्राप्त टोलीबीचको इलिमिनेटर खेल मङ्सिर २४ गते हुनेछ। त्यसको विजेता र पहिलो क्वालिफायरमा पराजित टोलीबीच दोस्रो क्वालिफायर मङ्सिर २५ गते हुनेछ। फाइनल मङ्सिर २७ गते हुनेछ।
विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पाउनेछ। उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ, जसले अघिल्लो सिजनको पुरस्कार संरचनालाई निरन्तरता दिएको छ।
क्यानले दोस्रो संस्करणबाट ३५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ। प्रायोजकबाट १५ करोड ३० लाख, फ्रान्चाइज टोलीहरूबाट ९ करोड, ओटीटीबाट ५ करोड ३० लाख र टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म जुट्ने अनुमान छ।
साधारण टिकट ५ सय र भिआइपी टिकट १५ सय रुपैयाँ तोकिएको छ। अन्य समूह चरणमा साधारण ५ सय र भिआइपी १ हजार रुपैयाँ रहनेछन्। प्लेअफ तथा फाइनलमा साधारण १ हजार र भिआइपी २ हजार रुपैयाँ लाग्नेछ। सिजन पास १५ हजार रुपैयाँमा उपलब्ध छ।
नेपालभित्रका दर्शकहरूले कान्तिपुर म्याक्स एचडीबाट र विदेशका दर्शकहरूले स्टार स्पोर्ट्सबाट खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन्।
एनपीएलले नेपाली क्रिकेटको विकाससँगै देशको खेल–अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखिएको छ।






