२१ असोज, सोलुखुम्बु — सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुनु सँगै पर्यटकिय गतिविधि पनि तीव्र हुन्छ। प्रत्येक वर्ष असोजको अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्म पर्यटक, व्यापारी तथा स्थानीयहरू व्यस्त हुन्छन्।
तर यस वर्ष भने असोजको तेस्रो सातामै दुर्लभ हिमपातले खुम्बु क्षेत्र सेतो पहेँलो बनेको छ। असोज महिनामा हिमपात हुनु सामान्य नभए पनि यस पटकको भारी हिमपातले स्थानीयहरू, व्यवसायीहरू र आरोहण टोलीहरूलाई प्रभावित बनाएको छ।
गत आइतबार बिहानदेखि परेको भारी वर्षापछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अन्तर्गत नाम्चेभन्दा माथिल्लो क्षेत्रहरूमा हिउँ परेको छ। लगातारको वर्षा र हिमपातका कारण दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्रहरू सेतो पहाडमा परिणत भएका छन्, स्थानीय पासाङ शेर्पाले बताए।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार आइतबार परेको हिमपातले खुम्बुको माथिल्लो क्षेत्रमा चार फिटभन्दा बढी हिउँ जमेको छ।






