जेनजी आन्दोलनको समर्थनमा २८ राजनीतिककर्मीको अपिल, दल पुनर्गठनको माग

Shares

२१ असोज, काठमाडौं — विभिन्न राजनीतिक दलसँग आबद्ध २८ जना राजनीतिककर्मीले दलहरूमा सुधारको खाँचो औंल्याउँदै दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनको नेतृत्व लिन सार्वजनिक अपिल गरेका छन्।

अरविन्द सिंह, अभिजित अधिकारी, अशेष घिमिरे, उषाकिरण तिम्सेना, करुणा पराजुली, जटिल कार्की, जेबी विश्वकर्मा, नवीन तिवारी लगायतका राजनीतिककर्मीहरूले जारी गरेको संयुक्त वक्तव्यमा दलभित्रको परिवर्तन अपरिहार्य भएको उल्लेख छ।

उनीहरूले जेनजीको नेतृत्वमा भएको शान्तिपूर्ण आन्दोलनमाथि राज्यबाट भएको ‘कायरतापूर्ण आक्रमण’ र त्यसक्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो अपिल सार्वजनिक गरेका हुन्।

“पुराना नेतृत्वले राजनीतिलाई असफल बनाउँदै आएको यथार्थ अब लुकाउन सकिन्न,” वक्तव्यमा भनिएको छ, “उनीहरूलाई बिदा नगरी दलहरूको पुनर्गठन सम्भव छैन। त्यसैले दोस्रो र तेस्रो तहका नेताहरूले ढिलो नगरी अग्रसरता लिनुपर्छ।”

“विद्रोह स्वाभाविक थियो”

राजनीतिक भ्रष्टाचारको विरोधमा आवाज उठ्न थालेको धेरै भइसकेको भन्दै उनीहरूले जेनजीको आन्दोलन कुनै आकस्मिक घटना नभएको बताएका छन्। नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा विदेशमा रहेका नेपालीहरूले समेत लामो समयदेखि आवाज उठाउँदै आएको उनीहरूको भनाइ छ।

“राज्य र दलहरूले ती आवाजहरू नसुन्दा अन्ततः सडकबाट प्रतिक्रिया आउनु स्वाभाविक थियो,” उनीहरूको तर्क छ, “जेनजीको आन्दोलनले राजनीतिक सम्भ्रान्तहरूलाई घुँडा टेकाएको छ।”

उनीहरूले आफूहरू पहिलेदेखि नै दलभित्र सुधारका लागि लागिपरेको उल्लेख गर्दै जेनजी आन्दोलनप्रति ‘उच्च सम्मान’ व्यक्त गरेका छन्।

परिवर्तनको माग स्पष्ट छ

वक्तव्यमा भनिएको छ, “नेपाली जनताको स्पष्ट चाहना छ— भ्रष्टाचारमुक्त, पारदर्शी र परिणाममुखी शासन प्रणाली। त्यसका लागि राजनीतिक दलहरू जवाफदेही बन्नुपर्छ। नेतृत्व हस्तान्तरण अब अनिवार्य र स्वाभाविक प्रक्रिया बन्नुपर्छ।”

तर मुख्य दलका शीर्ष नेताहरू अझै पनि जनताको यो स्पष्ट सन्देश नबुझ्ने, वा बुझपचाउने प्रवृत्तिमा रहेको उनीहरूको भनाइ छ।

“नेतृत्वको सत्तालिप्साले आन्दोलनको सन्देश बेवास्ता गरेमा मुलुक थप संकटतर्फ धकेलिन्छ,” उनीहरूले चेतावनी दिएका छन्।

अन्त्यमा, देशलाई सम्भावित दुर्घटनाबाट जोगाउन सबै दलका दोस्रो र तेस्रो तहका नेताहरूले अग्रसर भई पार्टी पुनर्गठनको जिम्मेवारी लिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.