बुटवल/रूपन्देही
नेपाली जनता दलले वर्तमान राजनीतिक अवस्था र सामाजिक चुनौतीहरूका बारेमा बुटवलमा आफ्नो धारणा सार्वजनिक गरेको छ। रूपन्देहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा पार्टीका नेताहरूले वर्तमान राजनीति पतन उन्मुख भएको भन्दै कडा आलोचना गरेका छन्।



कार्यक्रममा पार्टीका केन्द्रीय सचिव अधिवक्ता विमल पोख्रेलले अहिलेको राजनीति मानव सभ्यता र संस्कृतिबाट टाढिएको बताउनुभयो। सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा आतङ्क फैलाइएकोमा चिन्ता व्यक्त गर्दै उहाँले वास्तविक मानवतावादको स्थापनाका लागि नै नेपाली जनता दल बनेको स्पष्ट पार्नुभयो।पोख्रेलले पार्टीमा ‘होलटाइमर’ कार्यकर्ता हुनु भनेको भ्रष्टाचारलाई प्रोत्साहन गर्नु भएको तर्क गर्नुभयो। उहाँले भन्नुभयो, “हामी चन्दा र कमिसनको विरोधमा छौँ, यो पार्टी गरीखानेहरूको पार्टी हो।” साथै, शिक्षित वर्गले नै समाजलाई भ्रमित पारिरहेको भन्दै गलत कुराको खण्डन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजु पौडेलले निर्वाचनको माहौलमा जनतामा नयाँ आशा पलाएको बताउनुभयो। अन्य उम्मेदवारहरूले विकासको ‘ललिपप’ देखाएर ठेकेदारी प्रथालाई प्रश्रय दिएको भन्दै उहाँले मतदाताहरूलाई सचेत रहन आग्रह गर्नुभयो।
पार्टीका कार्यकारी अध्यक्ष नवराज सुवेदीले नेपाली जनता दल कांग्रेस, कम्युनिष्ट वा अन्य पपुलिष्ट पार्टीहरू भन्दा फरक रहेको दाबी गर्नुभयो। यो पार्टी नेपाली माटो सुहाउँदो र मौलिक विचार बोकेको उहाँको भनाइ थियो।
कार्यक्रमका वक्ताहरूले वर्तमान राजनीतिक अस्थिरता र सांस्कृतिक विचलनलाई चिर्नका लागि नेपाली जनता दलको भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालेका थिए। कार्यक्रमको सञ्चालन सरोजमान सिङले गर्नुभएको थियो।






