बुटवल, भदौ २७
नेपाल नाट्य प्रतिष्ठान, लुम्बिनी प्रदेशको बैठक सिद्धार्थ कटेज बुटवलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षतामा बसेको बैठकले आगामी कार्तिक १४ गते शनिवार प्रतिष्ठानको प्रथम अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।
बैठकले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी एक-एक जना रङ्गकर्मी तथा नाट्य विधाका स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ। साथै, प्रदेशभित्रका नाट्य स्रष्टाहरूका नाट्य-कृति समेटेर समालोचना सङ्ग्रह प्रकाशन गर्ने निर्णय गर्दै सम्पूर्ण समालोचकहरूलाई समालोचनात्मक लेख पठाउन आग्रह गरिएको छ।
प्रकाशन समितिका संयोजक तथा कोषाध्यक्ष डिल्लीनारायण पाण्डेयका अनुसार उक्त सङ्ग्रहका लागि आगामी असोज २५ गतेभित्र नाट्य रचनामा केन्द्रित समालोचनात्मक लेख इमेल (nepalnatyapratisthan@gmail.com) मार्फत पठाइसक्नुपर्ने गरी समय सीमा तोकिएको छ।
बैठकमा प्रतिष्ठानका सल्लाहकारहरू ऋषि आजाद, डा. प्रेमप्रसाद तिवारी, डिल्लीनारायण पाण्डे, कमल पोखरेल, भावना खनाल, हेमराज भुसाल र गणेश भण्डारीको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सल्लाहकार ऋषि आजादले संस्था स्थापनाको पहिलो वर्षमा नै महत्त्वपूर्ण तथा रचनात्मक कार्यको अगुवाइ गरेकोमा समितिलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो।





