काठमाडौँ — प्रतिपक्षी दल एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भएको भन्दै आम नेपालीसँग माफी माग्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले प्रधानमन्त्रीले “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाए। उनले उक्त भनाइले आफूलाई लज्जाबोध भएको उल्लेख गर्दै राष्ट्रियताको विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने बताए।
रानाले नेपालको भूमि नेपाली पुर्खाहरूले आर्जन गरेको ऐतिहासिक सम्पत्ति भएकाले यसलाई सामान्य रूपमा लिन नहुने धारणा राखे। राष्ट्रियताप्रति सबै नेपालीको प्रेम, निष्ठा र समर्पण रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि आघात पुगेको दाबी गरे।
उनले संसद्को अभिलेखबाट उक्त अभिव्यक्ति हटाउन माग गर्दै प्रधानमन्त्रीले जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन्।





