बुटवल, ५ माघ ।
प्रश्रित प्रतिष्ठान नेपाल, रूपन्देहीको आयोजनामा बुटवलमा एक विशेष साहित्यिक समारोहबीच कृति लोकार्पण, परिचर्चा, लघुकथा वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा. तिलक आचार्यको प्रमुख आतिथ्यमा ‘कपिल लामिछानेको लघुकथासाधना’ कृतिको लोकार्पण गरिएको हो।
डा. शालिकराम पौड्यालद्वारा सम्पादित उक्त कृति स्रष्टा कपिल लामिछानेका लघुकथाहरूमाथि केन्द्रित रहेको छ। विमोचित कृतिमाथि समीक्षा गर्दै ऋषिराम भुसाल, वनमाली निराकार, रुद्र ज्ञवाली र डा.अजित खनालले एउटै व्यक्तिका लघुकथामाथि गरिएका समालोचनाहरूको यो पुस्तक लघुकथाको इतिहासमा पहिलो भएको दाबी गर्नुभयो।प्रतिष्ठानका केन्द्रीय सदस्य तथा बुटवल बहुमुखी क्याम्पस नेपाली शिक्षा विभागका विभागीय प्रमुख डा. नारायणप्रसाद पन्थले सम्मानित व्यक्तित्वको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।

साहित्यिक क्षेत्रमा योगदान पुर्याएबापत कार्यक्रममा भुँडीपुराण प्रकाशनका प्रबन्धक केशवप्रसाद पराजुली र सम्पादक डा. शालिकराम पौड्याललाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरियो। प्रतिष्ठानका अध्यक्ष डा. कपिल लामिछानेले प्रकाशकलाई सम्मान गर्नु साहित्यिक संस्थाको दायित्व भएको उल्लेख गर्नुभयो। सम्मानित व्यक्तित्व पराजुलीले रूपन्देहीका गुणस्तरीय कृति प्रकाशनमा आफूहरू सधैँ तत्पर रहने प्रतिबद्धता जनाउनुभयो।
प्रमुख अतिथि डा. तिलक आचार्यले साहित्यलाई समाज परिवर्तनको संवाहक मान्दै प्रकाशक र लेखकबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। विशिष्ट अतिथि मदन पुरस्कार विजेता नीलम कार्की ‘निहारिका’ ले सम्पादकको मिहिनेत र कलाको प्रशंसा गर्नुभयो भने बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा. अरुणकुमार क्षेत्रीले डा. पौड्यालको अनुसन्धान क्षमताको चर्चा गर्नुभयो।
समारोहमा डा. हरिप्रसाद भण्डारी, डा.प्रेमप्रसाद तिवारी, राजेन्द्र आचार्य, उद्धव देवकोटा, विजय सागर, सरु ज्ञवाली लगायतका १५ जना स्रष्टाहरूले लघुकथा वाचन गरेका थिए।
प्रतिष्ठानका अध्यक्ष डा. कपिल लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष डा. गितु गिरीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव डा.शालिकराम पौड्यालले गर्नुभएको थियो।






