बुटवल बहुमुखी क्याम्पसमा कृति परिचर्चा, विदाइ तथा सम्मान कार्यक्रम सम्पन्न

Shares

बुटवल, ६ पुस ।बुटवल बहुमुखी क्याम्पस, नेपाली विभागको आयोजनामा एक विशेष समारोहका बीच प्रा.डा. हिरण्यलाल ज्ञवालीका तीन कृतिहरूको परिचर्चा, सेवानिवृत्त प्राध्यापकहरूको विदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कवि ज्ञवालीद्वारा लिखित पछिल्ला तीन कृतिहरू ‘अनुभूतिमा अमेरिका’ (२०८१), ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’ (२०८२)‘मातृपितृ वन्दना’ (२०८२) माथि गहन छलफल गरिएको थियो।

ती कृतिहरूको समीक्षा गर्दै सहप्रा. ऋषिराम भुसाल, डा. शालिकराम पौड्याल, डा. नारायणप्रसाद पन्थ, उपप्रा. गणेशप्रसाद न्यौपाने, उपप्रा. ईश्वरीप्रसाद पोखरेल र उपप्रा. राजु भुसालले डा. ज्ञवालीका लेखनमा दार्शनिकता, नियात्राको जीवन्तता र पितृभक्तिको सुन्दर संयोजन रहेको चर्चा गर्नुभयो।

त्यस्तै लामो समयसम्म शैक्षिक क्षेत्रमा योगदान पुर्‍याई सेवानिवृत्त हुनुभएका प्राध्यापकहरूलाई सोही अवसरमा सम्मानसहित विदाइ गरिएको थियो। सम्मानित हुनेहरूमा सहप्रा. डा. थानेश्वर अर्याल,बाबुराम शर्मा र कुलमणि शर्मा हुनुहुन्थ्यो।

कार्यक्रममा क्याम्पस प्रमुख डा. अरुणकुमार क्षत्रीले क्याम्पसको प्राज्ञिक उचाइ बढाउन प्राध्यापकहरूको लेखन र सेवाको ठूलो भूमिका रहने बताउनुभयो। कृतिकार प्रा.डा. हिरण्यलाल ज्ञवालीले आफ्ना रचना गर्भका बारेमा प्रकाश पार्दै आगामी दिनमा पनि साहित्य साधनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै डा.थानेश्वर अर्याल, उपप्रा. हरिप्रसाद देवकोटा र डा. तिलक भुसालले कृतिकारको व्यक्तित्व र सेवानिवृत्त प्राध्यापकहरूको योगदानको प्रशंसा गर्नुभयो। वि.स. २०१६ मा गुल्मीको थोर्गामा जन्मनुभएका डा. ज्ञवालीका ‘बिसौनी’, ‘परिचय’ र ‘कर्मयोगी केशवलाल कसजू’ लगायत करिब एक दर्जन कृतिहरू प्रकाशित छन्।

नेपाली विभागका प्रमुख सहप्रा. डा. सखिशरण सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन डा. प्रेमप्रसाद तिवारीले गर्नुभएको थियो। कार्यक्रममा विभागीय सदस्यहरू तथा स्नातकोत्तर तहका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.