रवि लामिछानेको कोठामा दुईटा पंखा, खुला शौचालय, झ्यालको​​​​​​​ प्लाइउड हटाउन आयोगको निर्देशन

Shares

राष्ट्रिय मानव अधिकार आयोगले सोमबार रूपन्देही कारागारको अनुगमन गरेको छ।

आयोगकी आयुक्त लिली थापासहितको टोलीले रूपन्देही कारागारको अवस्थाबारे अनुगमन गरेको हो।

कारागार अनुगमन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै आयुक्त थापाले क्षमताभन्दा बढी कैदी राखेको पाइएको बताइन्।

‘२५० जना कैदी राख्ने क्षमता भएको यस कारागारमा ७०० कैदी राखिएको छ, यो न्यूनतम मानव अधिकारको हनन् भएको विषय हो, हामीले त्यो पायौं,’ थापाले भनिन्, ‘७०० जना कैदीलाई व्यवस्थापन गर्ने कारागार प्रमुखलाई म धन्यवाद दिन्छु।तर क्षमताभन्दा बढी कैदी राख्नु र कैदी व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी हो।’

मानव अधिकार आयोगले सबै कैदीबन्दीका अवस्थाबारे बुझेको थियो।

यसपछि पत्रकारहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि यही कारागारभित्र रहेको र उनका बारेमा विभिन्न सञ्चार माध्यमहरूमा फरक-फरक विवरणका समाचार आएकोले सत्यतथ्य के हो भनेर सोधेका थिए।

त्यसक्रममा आयुक्त लिली थापाले अनुगमनका क्रममा सभापति लामिछानेसँग पनि कुराकानी गरिएको बताइन्।

‘उहाँले अहिलेसम्म घुमफिर (बाहिर हिँडडुल) गर्न पाएको छैन। बाहिर गएर स्वच्छ हावा लिन पाउनुपर्‍यो, पत्रपत्रिका पढ्न पाउनुपर्‍यो, न्युज सुन्न पाउनुपर्‍यो भन्ने कुरा गर्नुभयो,’ उनले भनिन्, ‘उहाँले कानुनी सहायता पनि लिन नपाएको, मुद्दा लड्न कानुन व्यवसायीसँग भेट्न नपाएको, आफ्ना कार्यकर्तासँग पनि भेट्न नपाएकोजस्ता कुरा पनि सुनाउनुभयो।’

रवि लामिछानेलाई कारागारमा ४२० स्क्वायर फिटको छुट्टै कोठामा राखिएको छ। त्यो कोठामा अट्याच शौचालय भए पनि खुला रहेको उनले बताइन्।

‘अट्याच शौचालय छ तर पूरा गारो छैन, हल्का मात्रै गारो लगाइएको छ,’ उनले भनिन्, ‘कोठाभित्र भुइँमा हरियो कार्पेट विच्छाइएको छ, दुई वटा पंखा छ, एउटा खाट, एउटा टेबुल छ।’

पत्रकारहरूले एसी वा कुलर छ कि छैन भनेर सोध्दा उनले ‘दुइटा पंखा मात्रै छ’ भनेकी छन्। झ्यालमा प्लाइउड राखिएको र त्यो सुरक्षाका लागि भन्ने कुरा आएको उनले बताइन्। ‘तर हामीले त्यो झ्यालको प्लाइउड झिक्न भनेका छौं, कारागार प्रशासनले हुन्छ भनेको छ,’ उनले भनिन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.