रसुवा बाढीमा बेपत्ता जीवलाल अधिकारीको कुशको पुत्ला बनाई गरियो अन्त्येष्टि

Shares

बुटवल ,नेपाल विद्युत् प्राधिकरण अन्तर्गत रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत कपिलवस्तु जिल्ला निवासी जीवलाल अधिकारी रसुवामा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन हुनुभएको घटनाले सिङ्गो क्षेत्रलाई स्तब्ध बनाएको थियो। । राष्ट्रको उज्यालोका लागि जलविद्युत् आयोजनामा समर्पित भएर दिनरात खटिरहेकै समयमा अचानक आएको भीषण बाढीले उहाँलाई बेपत्ता बनाएको थियो। घटनालगत्तै सुरक्षा निकाय तथा स्थानीय प्रशासनको सहयोगमा व्यापक खोजी तथा उद्धार कार्य सञ्चालन गरिए तापनि उहाँको कुनै पत्तो पाउन सकिएन। दिनहरू बित्दै जाँदा जीवितै फर्किने आशा क्षीण हुँदै गएपछि परिवार, आफन्त र सहकर्मीहरू गहिरो निराशा र पीडामा डुबेका थिए।

अन्ततः लामो पर्खाइ र अथक खोजीपछि पनि भौतिक शरीर फेला नपरेपछि परिवारजनले हिन्दु धार्मिक शास्त्र अनुसार अन्तिम संस्कार गर्ने कठिन निर्णय लिएका हुन्। सोही क्रममा आज मिति २०८३ साल भदौ २७ गते नवलपरासी (सुस्ता पश्चिम) स्थित पवित्र धार्मिक स्थल त्रिबेणी धाममा पुगेर कुशको पार्थिव शरीर (पुत्ला) बनाई उहाँको दाहसंस्कार गरिएको छ। धार्मिक परम्परा अनुसार छोराको हातबाट कुशको पुत्लामा दागबत्ती दिइँदा त्रिबेणी धाम परिसरमा उपस्थित आफन्त, सहकर्मी र स्थानीयवासीको आँखा रसाएका थिए। बाढीले भौतिक शरीर खोसे पनि उहाँको आत्माको शान्तिका लागि वैदिक विधिपूर्वक सबै अन्त्येष्टि संस्कार पूरा गरिएको हो।

कर्तव्यनिष्ठ र निष्ठावान् राष्ट्रसेवक कर्मचारीका रूपमा परिचित अधिकारीको यस असामयिक क्षतिले नेपाल विद्युत् प्राधिकरण परिवारका साथै उहाँको जन्मथलो कपिलवस्तुमा शोक छाएको छ। एउटा होनहार राष्ट्रसेवकलाई यसरी  गुमाउनु पर्दा सिङ्गो समाज नै स्तब्ध बनेको छ। 

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.