कमल प्रसाद न्यौपाने-
२२ साउन बुटवल-लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पर्ने लमही–भालुवाङ सडक खण्डको पाखापानी क्षेत्रमा स्थानीय बासिन्दाले विरोधको अनौठो शैली अपनाउँदै सडकमै केरा रोपेपछि चर्चा चुलिएको छ। राज्यको उदासिनता र स्थानीय जनताको पीडा अहिले सडकमै छताछुल्ल भएको छ।सडकमा व्यापक खाल्डाखुल्डीले गर्दा दैनिकजसो साना–ठूला सवारी दुर्घटना भइरहेका छन्। हरेक दिन ज्यानको जोखिममा यात्रा गर्न बाध्य स्थानीय जनता तथा यात्रुहरूले वर्षौंदेखि सरोकारवालासँग गुहार मागिरहेका थिए। तर जिम्मेवार निकायबाट कुनै चासो नदेखिएपछि विरोधको संकेतस्वरूप स्थानीय युवाहरूले सडककै बीचमा केरा रोपे। उनीहरूले सडक विभाग र प्रदेश सरकारप्रति आक्रोश पोख्दै भने, अब सडक होइन, खेती गर्ने ठाउँ भएको छ, त्यसैले केरा रोपेका हौं।स्थानीय युवा भन्छन पटकपटक ध्यानाकर्षण गरायौं। मिडियामा खबर आयो, फोटोहरू सार्वजनिक भए। तर सरकार कानमा तेल हालेर बसेको छ। अब यस्तो अवस्थामा हामी चुप लागेर बस्न सक्दैनौं।लमही–भालुवाङ खण्ड लुम्बिनी प्रदेशको राजधानी क्षेत्रसँग जोडिएको अत्यन्त व्यस्त सडक हो। यो सडक लमहीबाट भालुवाङ हुँदै पूर्व–पश्चिम लोकमार्गमा मिल्छ। यसमार्गबाट दाङ, रोल्पा, रुकुम, प्युठान, सल्यानजस्ता जिल्लामा यात्रा गर्नेहरूको मुख्य पहुँच मार्ग यही हो। तर सडकको अवस्था हेर्दा राजधानी भनिने ठाउँको हालत कस्तो होला भन्ने प्रश्न उठ्छ।
स्थानीय सामाजिक अभियन्ता चौधरी भन्छिन्, “सडकको हालत यस्तो हुँदा विद्यार्थी, बिरामी, वृद्ध सबै प्रभावित भएका छन्। एम्बुलेन्ससम्म पल्टिन्छ। अझै पनि सुन्दैन भने हामी थप सशक्त आन्दोलन गर्छौं।यस सडकखण्डको जिम्मा लुम्बिनी प्रदेश सरकारले लिएको भए तापनि बजेट अभाव र निर्माण कम्पनीको लापरबाहीका कारण लामो समयदेखि मर्मत कार्य ठप्प छ। बेवास्ता गरिरहे सरकारले चाँडै सडकमा धान रोपाइँ पनि सुरु हुनेछ,एक स्थानीय युवकले भने।लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा पर्ने एक महत्त्वपूर्ण सडक यस्तो बेहाल अवस्थामा हुनु आफैंमा राज्यको लापरबाहीको प्रतिनिधि हो। जनता स्वयं सडकमा केरा रोप्न बाध्य हुनु सरकारका लागि गम्भीर सन्देश हो। प्रश्न उठ्छ—राजधानी दाङका सडकमा केरा रोपिनुपर्ने दिन आउनु राज्यको विकासको नमुना हो त? 






