काठमाडौँ — निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो।
प्रदेशगत रूपमा कोशीमा भीमराज प्रसाई, मधेशमा शुभनाथ पुरी, वाग्मतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ। आगामी फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि निर्वाचन हुँदैछ।
निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। नामावलीमाथि दाबी–विरोध तथा उजुरीमाथि छानबिनपछि पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
त्यसैगरी पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। पुस २४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। पुस २७ गते बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिनेछ।
पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। मतदान भने सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।







