रास्वपा महाधिवेशनः प्रस्तावक र समर्थक उम्मेदवार बन्न नपाउने

Shares

चितवन, ९ असार — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारका प्रस्तावक र समर्थक बनेका प्रतिनिधिहरू स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सोमबार सूचना जारी गर्दै उम्मेदवारी मनोनयन प्रक्रियासम्बन्धी मापदण्ड सार्वजनिक गरेको हो। आयोगका अनुसार सभापति पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य रहनेछन्। अन्य केन्द्रीय सदस्य पदका उम्मेदवारले भने एक जना प्रस्तावक र २१ जना समर्थक जुटाउनुपर्नेछ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनामा प्रस्तावक तथा समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य रूपमा समावेश गर्नुपर्ने उल्लेख गरिएको छ। प्रस्तावक र समर्थक बन्ने व्यक्ति महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था पनि गरिएको छ।

निर्वाचन आयोगले एक व्यक्ति एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न नपाउने स्पष्ट पारेको छ। यद्यपि, समर्थकका रूपमा एकभन्दा बढी उम्मेदवारलाई समर्थन गर्न भने रोक लगाइएको छैन।

आयोगका अनुसार निर्धारित नियमविपरीत उम्मेदवारी मनोनयन फाराम दर्ता गरिएमा त्यस्ता फाराम स्वतः अमान्य ठहर हुनेछन्।

उम्मेदवारी शुल्कतर्फ सभापति पदका लागि ५१ हजार रुपैयाँ, पदाधिकारीका लागि ४१ हजार रुपैयाँ तथा केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ तोकिएको छ।

यसैबीच, प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। निर्धारित कार्यतालिका अनुसार आज सम्पन्न हुनुपर्ने महाधिवेशन विवादका कारण लम्बिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.